सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ३ अर्बको ऋणपत्र असोज ३० गते मंगलबारका दिन बाँडफाँट गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ । बैंकले असोज १७ गतेदेखि असोज २२ गतेसम्म १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । क्यापिटलका अनुसार ६० प्रतिशत अर्थात् १८ लाख कित्ता ऋणपत्र विभिन्न संघसंस्थालाई ब्यक्तिगत तवरबाट बिक्री गरिएको छ भने ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बाँडफाँट गरिएको छ । हिमालयन क्यापिटल तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने छ ।
सिनर्जी पावरको साढे ५ लाख कित्ता सेयर बिक्री खुला, कसले खरिद गर्न पाउँछ ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज कात्तिक १ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले साढे ५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको २ः१ अनुपात अर्थात् ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १५ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा सेयरमा सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
युनिलिभर नेपालले आईपीएस मार्फत् लाभांश रकम भुक्तानी गर्ने
काठमाडौं । युनिलिभर नेपालले सेयर अभौतिकीकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो । गत वर्षजस्तै यसवर्ष पनि कम्पनीले नगद लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस)मार्फत रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ । सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीहरूले आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको हो । साथै, हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरुले हितग्राही खाता खोली सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ । हितग्राही खाता खोले पश्चात मात्रै लाभांश रकम प्राप्त हुने कम्पनीले बताएको छ । यस्तै, प्रत्येक सेयरधनीहरुले प्यान नम्बर, फोन तथा मोबाइल नम्बर र इमेल आइडी पठाउन कम्पनीले भनेको छ ।