एनआईसी एशिया बैंकको ३० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १५ अर्ब नजिक
काठमाडौं । एनआईसी एशिया बैंकको प्रस्तावित ३०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । असोज २८ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका योग्य सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । लाभांश पारितसँगै बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड नाघेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६३१ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल सञ्चालनमा ल्याएको छ ।
सिडिएसमा लगानी गर्ने अर्थमन्त्रालय, नाफा खानी नेप्से
काठमाडौं । आर्थिक वर्ष २०७७/८८ मा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले १६७ प्रतिशत लाभांश वितरण गर्यो । उक्त वर्ष १०० प्रतिशत नगद लाभांश र ६६.६७ प्रतिशत बोनस सेयर वितरण गर्यो । त्यस्तै, आर्थिक वर्ष २०७८/८९ मा पनि १०० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ लाभांश वितरण गर्यो । जति धेरै नाफा त्यति धेरै खुशी पूँजी बजारको चरित्र नै हो । तर, नेप्सेको उच्च दरको नाफामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका लागि विदेशबाट प्राप्त अनुदान पनि पूँजीमा जोडेर नेप्सेले गलत तरिकाबाट उच्च आम्दानी गरेको महालेखाले जनाएको छ । ‘कम्पनीले भारत सरकारबाट नेपालले अनुदानमा पाएको १४ करोड ७२ लाख रुपैयाँको सफ्टवेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई हस्तान्तरण गरेको छ । सो अनुदानको रकम कम्पनीले पुँजीगत जगेडा कोषमा जम्मा गरेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको १४ लाख ७२ हजार कित्ता सेयर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्दछ,’ महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । उक्त पूँजी रकममा सरकारले पाएको अनुदान रकम १४ करोड ७२ लाख रुपैयाँ समेत जोडिएको छ । बाँकी १५ करोड २८ लाख रुपैयाँ मात्र नेप्सेको लगानी रहेको सिडिएस एण्ड क्लियरिङ्गको भनाई छ । ‘भारत सरकारले नेपाल सरकारलाई दिएको अनुदान रकम कुनै पनि संस्थामा खर्च हुँदा त्यस रकमलाई अर्थमन्त्रालयको सेयर पुँजीको रुपमा लेखांकन गरिदै आएको छ । महालेखा परीक्षकको कार्यालयले भारतले दिएको अनुदान १४ करोड ७२ लाख रुपैयाँ अर्थमन्त्रालयको सेयर पूँजी हुनुपर्छ भनेको हो,’ महालेखा स्रोतले भन्यो । नेप्सेमा हाल कुल चुक्ता पूँजी १ अर्ब रुपैयाँमध्ये नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैङ्कको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६.१४ प्रतिशत तथा अन्यको १०.६० प्रतिशत स्वामित्व रहेको छ । नेप्सेले आर्थिक २०७७/७८ मा १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको कम्पनीले २०७८/८९ मा १ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ नाफामा गरेको थियो । वित्तीय स्थिति र सञ्चालन नतिजा कम्पनीको २०७९ आषाढ मसान्तको सेयर पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष, सञ्चित नाफा र अन्य कोष समेत ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ, गैह्र चालु दायित्व ९१ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ३८ करोड ५० लाख रुपैयाँ रहेको छ । गैहृ चालु सम्पत्ति ४ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ र चालु सम्पत्ति ४ अर्ब ३२ करोड ७४ रुपैयाँ समेत कुल सम्पत्ति ८ अर्ब ६९ करोड ६० लाख रुपैयाँ रहेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने उक्त रकम अर्थमन्त्रालयलाई हस्तान्तरण गर्नु पर्ने महालेखालाई लागेको मात्रै बताउँछन् । महालेखाले उठाएको प्रश्नमा अर्थमन्त्रालयमार्फत् महालेखालाई जवाफ पठाएको उनको भनाइ छ । ‘अर्थमन्त्रालयलाई हस्तान्तरण गर्नु पर्ने महालेखालाई लागेको मात्रै हो, त्यसको जवाफ हामीले लेखेर पठाइसकेका छौं, यो विषय २०६६/६७ मा भएको हो, यो रकम कसरी प्राप्त भयो भनेर विस्तृत विवरण अर्थमन्त्रालय मार्फत महालेखालाई पठाइसकेका छौं,’ उनले भने । उनका अनुसार उक्त विषय अझै सल्टिएको छैन । आफूहरुले जवाफ पठाएपछि निर्णय गर्ने अधिकारी उहाँहरुको रहेको उनको भनाइ छ ।
सिद्धार्थ बैंकका २ संस्थापक बाहिरिँदै, साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी कूल ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर खरिद गर्न इच्छुकले विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।