आईपीओ जारी गर्नु पर्ने माग राख्दै नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले बुधबार धनौ दिँदै आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग गरेका छन् । नेप्सेको पुनः संरचनाको लागि धर्ना कार्यक्रम गरेको संघका अध्यक्ष नबराज थापाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई आईपीओमार्फत् पुनः संरचना गरी सवल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन कर्मचारीहरुले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । पहिलो चरणमा प्लेकार्ड सहित सौहार्द वातावरणमा एक घण्टा दबावमुलक कार्यक्रम गरेको अध्यक्ष थापाले बताए । नेप्सेको पुनःसंरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबावमूलक कार्यक्रमलाई निरन्तर जारी राख्ने उनको भनाइ छ ।

बुधबार पनि दुई हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । मंगलबार जस्तै बुधबार पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बिहीबार असोज २५ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये मिड सोलुको ७४ लाख ८४ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने एमएसएचएल रहेको छ । त्यस्तै, नेप्से सिम्बोल बीजीडब्लूटी सिम्बोल नम्बर तोकिएको भगवती हाइड्रोको ५७ लाख २० हजार ६४७ कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १२०.४१ र अधिकतम ३६१.२३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।

यी हुन् सानिमा बैंकका १४ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । सानिमा बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व देखिएको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार १४ जना सेयरधनीहरुको ४९.९३ प्रतिशत अर्थात् ६ करोड २२ लाख १३ हजार ४१७ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका १४ व्यक्ति तथा संस्थाहरुमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात् ९८ लाख ९१ हजार ३२३ कित्ता रहेको छ । त्यस्तै, टेक राज निरौलाको ६.८१ प्रतिशत अर्थात् ८४ लाख ८३ हजार ५५० कित्ता, जिवनाथ लामिछानेको ५.५१ प्रतिशत अर्थात् ६८ लाख ६७ हजार २९४ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ५६ लाख १० हजार कित्ता र विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत अर्थात् ५४ लाख ६० हजार ६०९ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५३ लाख ३३ हजार ९६० कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ४९ लाख ४७ हजार ३२३ कित्ता, घनश्याम थापाको ३.७० प्रतिशत अर्थात् ४३ लाख ५७ हजार १७६ कित्ता, खेम राज लामिछानेको ३.५० प्रतिशत अर्थात् ४३ लाख ५६ हजार २६५ कित्ता र राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३१ लाख ५ हजार ८२७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, जय गणेश इन्भेष्टमेन्ट प्रा.लि.को ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता, दिलीप श्रेष्ठको ०.७६ प्रतिशत अर्थात् ९ लाख ४५ हजार ६४५ कित्ता, शाम्बा लामाको ०.७१ प्रतिशत अर्थात् ८ लाख ८५ हजार ६३७ कित्ता र गीता श्रेत्रीको ०.६३ प्रतिशत अर्थात् ७ लाख ८१ हजार ६३५ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार कूल सेयरको १७.९८ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ । त्यस्तै, सर्वसाधारणको भने ८२.०२ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको रहेको बैंक्को तथ्याङ्क छ ।