सिडिएसमा लगानी गर्ने अर्थमन्त्रालय, नाफा खानी नेप्से

<p>काठमाडौं । आर्थिक वर्ष २०७७/८८ मा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले १६७ प्रतिशत लाभांश वितरण गर्यो । उक्त वर्ष १०० प्रतिशत नगद लाभांश र ६६.६७ प्रतिशत बोनस सेयर वितरण गर्यो । त्यस्तै, आर्थिक वर्ष २०७८/८९ मा पनि १०० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ लाभांश वितरण गर्यो । जति धेरै नाफा त्यति धेरै खुशी पूँजी बजारको [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७७/८८ मा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले १६७ प्रतिशत लाभांश वितरण गर्यो । उक्त वर्ष १०० प्रतिशत नगद लाभांश र ६६.६७ प्रतिशत बोनस सेयर वितरण गर्यो । त्यस्तै, आर्थिक वर्ष २०७८/८९ मा पनि १०० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ लाभांश वितरण गर्यो ।

जति धेरै नाफा त्यति धेरै खुशी पूँजी बजारको चरित्र नै हो । तर, नेप्सेको उच्च दरको नाफामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका लागि विदेशबाट प्राप्त अनुदान पनि पूँजीमा जोडेर नेप्सेले गलत तरिकाबाट उच्च आम्दानी गरेको महालेखाले जनाएको छ ।

‘कम्पनीले भारत सरकारबाट नेपालले अनुदानमा पाएको १४ करोड ७२ लाख रुपैयाँको सफ्टवेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई हस्तान्तरण गरेको छ । सो अनुदानको रकम कम्पनीले पुँजीगत जगेडा कोषमा जम्मा गरेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको १४ लाख ७२ हजार कित्ता सेयर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्दछ,’ महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । उक्त पूँजी रकममा सरकारले पाएको अनुदान रकम १४ करोड ७२ लाख रुपैयाँ समेत जोडिएको छ । बाँकी १५ करोड २८ लाख रुपैयाँ मात्र नेप्सेको लगानी रहेको सिडिएस एण्ड क्लियरिङ्गको भनाई छ ।

‘भारत सरकारले नेपाल सरकारलाई दिएको अनुदान रकम कुनै पनि संस्थामा खर्च हुँदा त्यस रकमलाई अर्थमन्त्रालयको सेयर पुँजीको रुपमा लेखांकन गरिदै आएको छ । महालेखा परीक्षकको कार्यालयले भारतले दिएको अनुदान १४ करोड ७२ लाख रुपैयाँ अर्थमन्त्रालयको सेयर पूँजी हुनुपर्छ भनेको हो,’ महालेखा स्रोतले भन्यो ।

नेप्सेमा हाल कुल चुक्ता पूँजी १ अर्ब रुपैयाँमध्ये नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैङ्कको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६.१४ प्रतिशत तथा अन्यको १०.६० प्रतिशत स्वामित्व रहेको छ । नेप्सेले आर्थिक २०७७/७८ मा १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको कम्पनीले २०७८/८९ मा १ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ नाफामा गरेको थियो ।

वित्तीय स्थिति र सञ्चालन नतिजा कम्पनीको २०७९ आषाढ मसान्तको सेयर पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष, सञ्चित नाफा र अन्य कोष समेत ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ, गैह्र चालु दायित्व ९१ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ३८ करोड ५० लाख रुपैयाँ रहेको छ । गैहृ चालु सम्पत्ति ४ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ र चालु सम्पत्ति ४ अर्ब ३२ करोड ७४ रुपैयाँ समेत कुल सम्पत्ति ८ अर्ब ६९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने उक्त रकम अर्थमन्त्रालयलाई हस्तान्तरण गर्नु पर्ने महालेखालाई लागेको मात्रै बताउँछन् । महालेखाले उठाएको प्रश्नमा अर्थमन्त्रालयमार्फत् महालेखालाई जवाफ पठाएको उनको भनाइ छ ।

‘अर्थमन्त्रालयलाई हस्तान्तरण गर्नु पर्ने महालेखालाई लागेको मात्रै हो, त्यसको जवाफ हामीले लेखेर पठाइसकेका छौं, यो विषय २०६६/६७ मा भएको हो, यो रकम कसरी प्राप्त भयो भनेर विस्तृत विवरण अर्थमन्त्रालय मार्फत महालेखालाई पठाइसकेका छौं,’ उनले भने । उनका अनुसार उक्त विषय अझै सल्टिएको छैन । आफूहरुले जवाफ पठाएपछि निर्णय गर्ने अधिकारी उहाँहरुको रहेको उनको भनाइ छ ।

Share News