१ लाख लगानी गर्नेलाई युनिलिभरले बनायो करोडपति, यस्तो छ लाभांश इतिहास

<p>काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत अर्थात् प्रतिसेयर १५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण [&hellip;]</p>

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत अर्थात् प्रतिसेयर १५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । जुन हालसम्मकै उच्च हो ।

कम्पनीले आर्थिक वर्ष २०६६/६७ मा ५९० प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ६८० प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा ७६० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ८६० प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ९९० प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा १०२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १२७० प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ७ सय प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ७७० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १ सय प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै छ ।

सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् ।

सोमबारको सेयर कारोबारका आधारमा बजार पूँजी ३२ अर्ब ४१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य सोमबार ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ३९ हजार ९३० रुपैयाँ हाराहारीमा पुगेको थियो ।

१२ वर्ष अगाडि युनिलिभरको १ हजार कित्ता सेयर पाउन असम्भव नै थियो । यदि कम्पनी नेप्सेमा सूचीकृत हुँदा संस्थापक सेयरधनीसँग एक हजार कित्ता सेयर थियो भने २०६६/६७ पछिको नगद लाभांशलाई मात्रै गणना गर्दा सो सेयरधनीले सवा १ करोड रुपैयाँ बढी लाभांश प्राप्त गरेको देखिन्छ ।

कम्पनीले १२ वर्षको अवधिमा हालसम्म निरन्तर नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । सो अधारमा १२ वर्षअघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई कम्पनीले करोडपति बनाएको हो । १२ वर्षअघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किने लगानीकर्ताले १२ वर्षपछि १ करोड ११ लाख ८५ हजार रुपैयाँ बराबरको प्रतिफल प्राप्त गरेको देखिन्छ ।

१२ वर्षअघि भने युनिलिभरको वास्तविक सेयर मूल्य ५ हजार ८ सयको हाराहारीमा थियो । युनिलिभर नेपाल २८ बर्षभन्दा लामो इतिहास बोकेको कम्पनी हो । यस कम्पनीमो होम केयर (घरगृहस्थ उपयोगका वस्तु) ब्यूटि एण्ड पर्सनल केयर (सौन्दर्य प्रशाधन तथा वैयतिक उपयोगका बस्तु), फुड्स एण्ड रिफ्रेसन्ट (खाद्य तथा पेय)–अन्तर्गत लगानी–व्यवस्थापन श्रृङखलाका ब्रान्डहरु उपलब्ध छन् ।

Share News