नेप्सेमा दोहोरो अंकको गिरावट, लाभांश घोषणा गरेकै दिन घट्यो ग्लोबल आइएमईको सेयर मूल्य
काठमाडौं । साताको पहिलो कारोबार दिन पुँजी बजार ओरालो लागेको छ । आइतबारको बजार सूचक दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको हो । आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ३२२ पटक खरिद बिक्री हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार एनआईसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । लघुवित्तको सेयर मूल्य ६.९७ प्रतिशत बढेर ६१४ रुपैयाँमा अन्तिम कारोबार भएको देखिन्छ । यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ५.४७ प्रतिशत बढेर ७११.९० रुपैयाँ अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार हिमालयन लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेको छ । आइतबार वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आइतबार नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता ३०७.२० रुपैयाँमा १ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । यस्तै, आइतबार लाभांश घोषणा गरेको ग्लोबल आइमएई बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य २.४३ प्रतिशत घटेर प्रतिकित्ता २०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । तर, बैंकको सेयर कारोबार भने ३ करोड १७ लाख ७९ हजार रुपैयाँको भएको नेप्सेको तथ्याङ्क छ ।
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री गर्ने भएको हो । ७ वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिनेछ । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डको इकाईमा छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।