नेपाल वेयरहाउजिङ्गले मंसिर १० गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गतदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
६ लघुवित्तको लाभांश घोषणा, अधिकतम २० प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षमा आधा दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत लघुवित्तहरूमध्ये ६ वटा लघुवित्तले तिहारअघि नै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म आरएसडिसी लघुवित्त, युनिक लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस्तै, युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त वित्तीय संस्थाहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेपाल शेयरहोल्डर अलायन्सद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डौं । ‘रक्तदान नियमित काम’ ! मूल नाराका साथ नेपाल शेयरहोल्डर अलायन्सद्वारा तिहार, नेपाल सम्वत् ११४४ र वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै ‘आकस्मिक रक्तदान’ तथा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम कात्र्तिक २४ गते शुक्रबार झीगु इच्छुमती खलः, काठमाण्डौं वडा नं. २८ मा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र राष्ट्रिय रक्त नायक र रक्त सम्राट उपाधिबाट बिभूषित, नेपालका सर्वाधिक १७६ औं पटक रक्तदान गरिसक्नुभएका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रथम रक्तदाता सुजन थापालाई रगतको ब्याग हस्तान्तर गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । नेपाल शेयरहोल्डर अलायन्सका का.वा. अध्यक्ष लवराज जोशीले सभापतित्व गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उत्सव सुन्दर श्रेष्ठले गरेका थियो भने कार्यक्रमको पूर्ण संयोजन संस्थाका कोषाध्यक्ष देवेन्द्र राईले गरेका थिए ।