बीमा क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ : नवराज अधिकारी
नेपाल धितोपत्र बोर्डका कार्यवाहक नवराज अधिकारीले अर्थतन्त्रमा बीमा क्षेत्रले ठूलो योगदान पुर्याएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक अध्यक्ष अधिकारीले वित्तीय स्थायीत्व कायम गर्न बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘४४ प्रतिशत जनसंख्या बीमाको दायरामा ल्याउन, बीमाको दायरा बढाउन, स्वस्थ प्रतिस्पर्धा गराउन प्राधिकरणले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘पुँजी बजारमा जीवन कम्पनीहरूले संस्थागत लगानीकर्ताको भूमिका खेल्न सक्छन्, बीमा कम्पनीलाई पुँजी बजारमा लगानी गर्न प्राधिकरणले खुला गरिदिनुपर्छ ।’ उनले लाभांश घोषणा गर्दा बीमा कम्पनीले ध्यान दिनुपर्ने र सेयर मूल्यलाई ख्याल गरी निर्णय गर्न आग्रह गरेका छन् ।
२८ अंकले बढ्यो नेप्से, हाइड्रोपावर र लघुवित्तमा आकर्षण
काठमाडौं । मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् । नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ । केही समयदेखि निरन्तर १९ सय बिन्दुमा रहँदै आएको नेप्से परिसूचक २ हजार बिन्दुमा पुगेको हो । आज सेयर बजार बढेपनि २२ कम्पनीको मूल्य घटेको छ भने २१९ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको स्थिर रहेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको हो । सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । आज सबै क्षेत्रका सूचकहरु बढेका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ । आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर बजारमा घटेको नयाँ कमिसन आजबाट लागु हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?
काठमाडौं । आजबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटाएको ब्रोकर कमिसन लागु हुँदैछ । बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले जेठ १ गतेबाट लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलालीबापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ । यस्तै ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबाररमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत कमिसन लाग्ने छ । यस्तै २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ भने १ करोड रुपैयाँभन्दा माथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कमिसन लाग्ने छ । सेयर लगानीकर्ताले यसअघि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए । यस्तै ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए ।