काठमाडौं । पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । यसअघि सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साथै नेप्से ३० महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ४३.०५ अंक बढेर ३०००.८१ को विन्दुमा बन्द भएको हो । बिहीबार १०६ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।
लगानीकर्ताहरू बैंकिङ समूहमा झुम्मिँदा सो समूह ५.६५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सूचीकृत समूहमध्ये फाइनान्स ३.०५, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन समूह १.७३, लघुवित्त ०.१३ र अन्य समूह २.३० प्रतिशतका दरले घटेको छ भने त्यसबाहेक सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै बैंकिङ समूहका लगानीकर्ताले कमाउँदा सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताहरूले ३.०५ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारका हिमालयन रि, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमश शीर्ष स्थानमा रहेका छन् । बिहिबार बुटवल पावर, राष्ट्र बिमा कम्पनी र मोदी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।