सेयर बजारमा उछाल आउँदा ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड, ‘कमाउने बेला घरमा बस्नु हुँदैन’
नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्ने सेवाग्राही । तस्बिर : सौगात पुडासैनी काठमाडौं । कपनका रवि मिश्र बिहान १० बजे अफिस पुग्छन् । अफिसमा एक घण्टा काम गरेर उनी आफ्नो टीएमएस खाता भएको ब्रोकर कार्यालयमा दौडिहाल्छन् । हातमा ल्यापटप लिएर उनी दिनभर ब्रोकर कार्यालयमै बस्छन् । उनले त्यहीँबाट सेयर किनबेच गर्छन् । पछिल्लो समय रविको दैनिकी यसरी नै बितिरहेको छ । ‘सेयर बजार घटेको बेला यहाँ आउन मन लाग्दैन, कारोबार नै गर्न मन लाग्दैन, अहिले बजार बढेको छ । घर र अफिसमै बसेर कारोबार गर्न मन लाग्दैन, त्यसैले आजभोलि मेरो दैनिकी यही ब्रोकर कार्यालयमा बित्ने गरेको छ,’ उनले विकासन्युजसँग भने । उनी सेयर बजार १९०० मा रहेको बेला केही सामान्य लगानीबाट दोस्रो बजार प्रवेश गरेका हुन् । सुरु-सुरुमा अरुले भनेकै आधारमा मात्रै लगानी गर्नाले आफूले धेरै गुमाउनु परेको उनको अनुभव छ । ‘सुरुमा नबुझेर गुमाइयो । तर, अहिले बजार बुझिसकेँ, आफैं विश्लेषण गरेर लगानी गर्छु, कारोबार अवधिभर ब्रोकर कार्यालयमै आएर बस्छु, सबै साथिहरूसँग सल्लाह सुझाव लिएर कारोबार गर्न पनि राम्रै हुन्छ,’ उनी भन्छन्, ‘समूहमा बस्दा अन्य लगानीकर्ताको मनोबल पनि बुझिन्छ ।’ नासा सेक्युरिटिजकाे कार्यालय । तस्बिर : सौगात पुडासैनी सातदोबाटोका नवराज निरौलाको दैनिकी पनि आजभोलि ब्रोकर कार्यालयमै बित्छ । उनी बिहान बजार नखुल्दै ब्रोकर कार्यालयमा प’छन् । दिनभर सोही कार्यालयमै बसेर साँझ मात्रै घर फर्किन्छन् । ‘अहिले पोर्टफोलियो राम्रो बन्दै गएको छ, कमाउने बेलामा घर बसेर हुँदैन, कार्यालयमै आएर कारोबार गर्दा धेरै कुरा थाहा हुन्छ,’ उनी भन्छन् । हिजोआज धेरै लगानीकर्ताहरू ब्रोकर कम्पनीमा नै पुगेर दिनभरि गफिदै कारोबार गरिरहेको भेटिन्छन् । अहिले सेयर बजार बढ्दा लगानीकर्ताको भीड ब्रोकर कार्यालयमा देखिन्छ । मदन पौड्याल, प्रबन्ध सञ्चालक, नासा सेक्युरिटिज । नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्याल सेयर कारोबार बढेसँगै ब्रोकर कार्यालयहरुमा लगानीकर्ताको चहलपहल बढेको बताउँछन् । पहिले कार्यालय सुनसान हुन्थ्यो, हिजोआज दिनभर चहलचहल हुन्छ, लगानीकर्ताहरू कार्यालयमै आएर गफिदै कारोबार गरिरहनु भएको छ,’ उनले भने । सेयर परिसूचकमा उत्साह आउँदा डिम्याट र ब्रोकर खाता खोल्न आउने नयाँ लगानीकर्ताको संख्या पनि उल्लेख्य बढेको उनी बताउँछन् । उनका अनुसार डिम्याट र ब्रोकर खाता खोल्नेको संख्या पनि पछिल्लो समय बढेको छ । केही मानिसहरु बजारबारे परामर्श लिन पनि आउने गरेको उनको भनाइ छ । विगतमा घरमै बसेर कारोबार गरिरहेका लगानीकर्ताहरू पनि अहिले ल्यापटप बोकेर ब्रोकर कम्पनीमै आउने गरेको उनको भनाइ छ । ब्रोकर कम्पनीहरूमा राखिएको ठूलो स्क्रिनमा कारोबारको लाइभ हेर्दै कारोबार गर्ने गर्ने गरेको उनको भनाइ छ । लगानीकर्ताहरू नेप्सेमा छाएको उत्साह केही समय टिक्नेमा आशावादी छन् । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५४ लाख जनाले मेरो सेयर र ६३ लाखले डिम्याट खाता खोलेका छन् । यो संख्या अझैं बढ्न सक्ने ब्रोकर कार्यालयहरु बताउँछन् । सागर ढकाल, अध्यक्ष, हिमालयन ब्रोकरेज ।हिमालयन ब्रोकरेजका अध्यक्ष सागर ढकाल पनि पछिल्लो समय ब्रोकर कम्पनीहरूमा चहलपहल बढ्दै गएको बताउँछन् । ‘कारोबार बढ्दै जाँदा कम्पनीमा चहलपहल बढ्नु स्वाभाविक हो, पछिल्लो केही समययता कम्पनीहरूमा लगानीकर्ताहरूको चहलपहल बढेको छ,’ उनी भन्छन्, ‘कम्पनीमै ल्यापटप लिएर आउनुहुन्छ, दिनभर आफ्नो इच्छाअनुसारको सेयर किनबेच गर्नुहुन्छ, डिम्याट र ब्रोकर खाता खोल्ने तथा बजारबारे केही जान्न बुझ्न खोज्ने मानिसहरु पनि पनि आउनुहुन्छ, विगतको तुलनामा चहलपहल बढेको छ ।’ बजारमा थोरै करेक्सन आउँदा पनि लगानीकर्ताहरू भने प्रोफिट बुक गर्नमा व्यस्त देखिन्छन् । सेयर बजारमा पछिल्लो समय एक किसिमको उत्साह आएको छ । आइतबार मात्रै सेयर बजारमा नयाँ रेकर्ड नै कायम भयो । आइतबार सेयर बजारमा पौने २६ अर्बको कारोबार भयो । जुन हालसम्मकै उच्च हो । सोमबार पनि बजार बढिरहेको छ ।
लगानीकर्ताको रोजाइमा ‘लो क्याप’ कम्पनी, यस कारण बढ्यो यी ९ स्टकमा आकर्षण
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ९४.५३ अंकले बढेर २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन कारोबार हालसम्मकै उच्च हो । नेप्सले नयाँ रेकर्ड कायम गर्दा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सकारात्मक सर्किट लाग्ने कम्पनीको पहिलो नम्बरमा छ नेशनल हाइड्रोपावर कम्पनी । आइतबार कम्पनीको कुल ११ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सेयर बजारमा यस कमपनीको कुल २ करोड ४६ लाख ६४ हजार ३८० कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत अर्थात् १ करोड ९७ लाख ३१ हजार ५०४ कित्ता संस्थापक सेयर रहेको छ भने २० प्रतिशत अर्थात् ४९ लाख ३२ हजार ८७६ कित्ता सर्वसाधारण सेयर छ । कारोबार मूल्यको आधारमा कम्पनीको आइतबारको बजार पुँजीकरण ५ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको सेयर आइतबार २२२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको चुक्ता पुँजी भने २ अर्ब ४६ करोड रहेको छ । पछिल्लो ५ महिनाको तथ्यांक हेर्ने हो भने यस कम्पनीको न्यूनतम सेयर मूल्य र अधिकतम् २२२ रहेको छ । यस कम्पनीले २०७७/७८ मा १८.५२५ प्रतिशत बोनस र ०.९७५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपश्चात कम्पनीले लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ०.३७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १०१.३३ रुपैयाँ रहेको छ । पिई रेसियो ४११.०१ रहेको छ । कम्पनीले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छैन । न्यून्तम ईपीएस र नेटवर्थसँगै पछिल्लो केही वर्षयता लाभांश दिन नसकेको यस कम्पनीको सेयर मूल्यमा नै सर्किट लागेको छ । यस्तै, आइतबार सकारात्मक सर्किट लाग्ने दोस्रो कम्पनी हो नेरुडे मिर्मिरे लघुवित्त । यस लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँ पुगेको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम ४८० रुपैयाँमा कारोबार भएको छ भने सबैचन्दा उच्च ९०२ रुपैयाँमा कारोबार भएको छ । आइतबार कम्पनीको २ लाख ३० हजार कित्ता सेयर कारोबार भएको छ । लघुवित्तको १ करोड ३९ लाख ७७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१.४९ अर्थात् ७१ लाख ९६ हजार कित्ता संस्थापक सेयर र ४८.५१ अर्थात् ६७ लाख ८१ हजार सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०७८/७९ मा २३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १.१५७९ प्रतिशत नगद र २२ प्रतिशत बोनस गरेर कुल २३.१५७९ प्रतिशत लाभांश बढेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी ३२.८१ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१४ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७८.५८ रहेको छ । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुन सकेको छैन । यस्तै, आइतबार एचआईडीसीएलको पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको २७ रुपैयाँ मूल्य बढेर २९८ रुपैयाँ पुगेको छ । आइतबार कम्पनीको १२ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २२ करोड ८७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक सेयर रहेको छ भने २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सबैभन्दा कम १५४ रुपैयाँ र सबैभन्दा उच्च २९८ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले २०७९/८० मा नगद लाभांश ५.२६३ प्रतिशत वितरण गरेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६.३८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो भने २६.२२ रहेको छ । आइतबार खानीखोला हाइड्रोपावर कम्पनीको आइतबार सेयर २७.८० रुपैयाँले बढेर ३०५.८० रुपैयाँ पुगेको छ । कम्पनीको आइतबार २ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा कम्पनीको ४६ लाख ५७ हजार बिज्ञा सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले हालसम्म लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको तेस्रो त्रैमासिक रिपोर्टअनुसार प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८५.०१ रुपैयाँ रहेको छ । त्यस्तै, पिई रेसियो पनि २४१.७७ ऋणात्मक रहेको छ । आइतबार सकारात्मक सर्किट लाग्ने मध्येको कम्पनी आखुखोला जलविद्युत पनि हो । कम्पनीको सेयर १९.८० रुपैयाँ बढेर २१७ रुपैयाँ कायम भएको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर सबैभन्दा कम १४१ रुपैयाँ र सबैभन्दा उच्च २५० रुपैयाँमा कारोबार भएको छ । नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत रहेको छ । जसमध्ये ७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ०.४३ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ रहेको छ भने पिई रेसियो ५०२ प्रतिशत रहेको छ । यस्तै, आइतबार सकारात्मक सर्किट लागेको अर्को कम्पनीको हो अपर तामाकोशी हाइड्रोपावर । आइतबार कम्पनीको सेयर २१ रुपैयाँले बढेर २३४ रुपैयाँ कामय भएको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम १५२ रुपैयाँमा र सबैभन्दा धेरै २६७ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २४ लाख ५१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमास अनुसार प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ रहेको छ । यस्तै, आइतबार शुभम पावरमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको नेप्सेमा २० लाख कित्ता सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर रहेको छ भने ३० प्रतिशत सर्वसाधारण सेयर छ । कम्पनीको पछिल्लो ५२ सातामा न्यूनतम ६१५ रुपैयाँमा र अधिकतम् १०७३ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक अनुसार प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ पनि ८७.२३ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै पिई रेसियो १३९.९४ प्रतिशत रहेको छ । आत्मानिर्भर लघुवित्तमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार सेयरमूल्य २९० रुपैयाँ मूल्य बढेर ३ हजार १९० रुपैयाँ पुगेको छ । नेप्सेमा ६ लाख ८५ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ६७ प्रतिशत संस्थापक र ३२ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०८०/८१ मा ५ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५ प्रतिशत लाभंश वितरण गरेको छ । आइतबार मिड सोलु हाइड्रोमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ बढेर ९५९ रुपैयाँ पुगेको छ । यस कम्पनीको नेप्सेमा ७४ लाख ८४ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ३.८५ रुपैयाँ रहेको छ भने नेटवर्थ १०२.६३ रुपैयाँ रहेको छ । पछिल्लो ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् ९५९ रुपैयाँ र न्यूनतम् २९४ रुपैयाँ कायम छ । आइतबार सेयर लगानीकर्ताले ‘लो क्याप’ अर्थात् कम मूल्य भएका कम्पनीहरू छानेको देखिन्छ ।
नेप्सेमा नयाँ रेकर्ड : ९४.५३ अंक बढेर पौने २६ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजारले कारोबार रकमका पुन: नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जसलाई उछिन्दै आइतबार पुनः नयाँ रेकर्ड कायम भएको हो । आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २,८६०.९१ को विन्दुमा अडिएको छ । आइतबार २२८ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र लगानी समूहमा झुमिएका छन् । सो समूहमा क्रमश ४.५५, ४.४० र ४.१२ प्रतिशतले बढेको छ । सूचीकृत सबै समूहमा हरियाली छाएको छ । हिमालयन रि र शिवम् सिमेन्टको १ करोड भन्दा माथि कारोबार भएको छ । नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।