लक्ष्मी सनराइजले घोषणा गर्यो २ वटा म्युचुअल फण्डको लाभांश
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको साउन २४ गते बसेको सञ्चालक समिति बैठकले सनराइज फस्र्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने कम्पनी सचिव सन्दिप प्रधानले जानकारी दिए । लक्ष्मी सनराइज क्यापिट योजना व्यवस्थापक रहेका यी दुई फण्डको कोष प्रर्वद्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।
सामान्य अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयरमा सर्किट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंककाे वृद्धि भएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ६. ७० अंकले बढेर २,७६६ को विन्दुमा अडिएकाे छ । बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब २० करोडको सेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको सेयर कारोबार हुँदा निफ्राले ९२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार गर्याे । बिहीबार सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कुथेली बुकरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाए । यस दिन सबैभन्दा धेरै गुमाउनेमा एनआरएनका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।
सेयर बजार अर्थतन्त्रको हिस्सा हो, अर्थतन्त्र हाँकेको होइन : पूर्वअर्थमन्त्री डा. महत
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि अर्थतन्त्र भने नहाँकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले सेयर बजारले देशको अर्थतन्त्र नहाँकेको बताएका हुन् । सेयर बजारले देशको अर्थतन्त्र नै हाँकेको हो भन्ने भाष्य सिर्जना गरिएको उनको भनाइ छ । अहिले बनेको सरकारका कारण लगानीकर्तामा उत्साह छाएको र बजार बढेको बजारलाई स्थायी बनाईराख्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि हाँकेको होइन । बजारमा चलखेल भइरहेको छ, त्यसलाई नियामक निकाय र सञ्चालकहरूले गम्भीरताका साथ लिनुपर्छ, बजारभित्र म्यानुपुलेसन नहुने सुनिश्चितता भए मात्र बजार प्रभावकारी रूपमा अघि बढ्छ,’ उनले भने । केही कम्पनीको सेयर मूल्य बढ्दा त्यो स्वभाविक नरहेको उनको भनाइ छ । सम्बन्धित कम्पनीको अध्ययन गरेर होसियारीपूर्वक लगानी गर्न उनले लगानीकर्ताहरूलाई उनले सुझाए । सेबोनले स्वच्छ अभ्यास भएनभएको बारे निरन्तर निगरानी गर्नुपर्ने र लगानीकर्ताको पुँजी फस्नबाट जोगाउनुपर्ने उनको धारणा छ । ‘कतिपय लगानीकर्ताले विरोध गरे, इन्साइडर ट्रेडिङ भएको छ कि छैन, म्यानु्पुलेट भएको छ छैन निगरानी गर्नुपर्छ, आम लगानीकर्ताको लगानी नडुबोस् भन्ने आशय हो,’ उनले भने । साथै, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया के कति कारणले रोकिइको हो भने डा.महतले प्रश्न गरेका छन् ।