नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता बिक्रीमा राखिएको हो । विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा नेपाल पुनर्बीमा कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८१ रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७.३१ अंकको गिरावट आएको छ । योसँगै नेप्से परिसूचक १९९८.९६ अंकमा अडिएको छ । यस दिन ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६१ कम्पनीको सेयर घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ को स्थिर रहेको छ । आज सबैभन्दा धेरै आइएमई लाइफको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका लगानीक छन् । यस दिन यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । विजय लघुवित्त वित्तीय संस्थाले ९.७१ प्रतिशत, आरएसडिसी लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतले कमाए । आज सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर कम्पनीका लगानीकर्ताले छन् । आज यस कम्पनी लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाए ।
सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाडौंमा बिहीबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।