एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले १० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । डाईनामिक डेप्ट फण्डको गत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सम्पन्न भइसकेपछि इकाईधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको छ । साथै लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १६ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत् उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

१ लाख कित्ता सेयर बेच्दै नेशनल लाइफ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दिवश विक्रम शाहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । शाहले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

हिमालयन लाइफबाट म्यूचल ट्रेडिङ र हिमालयन एक्जिम बाहिरिँदै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी म्यूचल ट्रेडिङ कम्पनी प्रालि र हिमालयन एक्जिम प्रालि बाहिरिने भएका हुन् । यी दुई कम्पनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये म्यूचल ट्रेडिङ कम्पनीले २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिम २ लाख २७ हजार ८५५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीले बिक्रीमा राखेको उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस सो अवधिमा संस्थापकको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।