काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ९४.५३ अंकले बढेर २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन कारोबार हालसम्मकै उच्च हो । नेप्सले नयाँ रेकर्ड कायम गर्दा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
सकारात्मक सर्किट लाग्ने कम्पनीको पहिलो नम्बरमा छ नेशनल हाइड्रोपावर कम्पनी । आइतबार कम्पनीको कुल ११ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सेयर बजारमा यस कमपनीको कुल २ करोड ४६ लाख ६४ हजार ३८० कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत अर्थात् १ करोड ९७ लाख ३१ हजार ५०४ कित्ता संस्थापक सेयर रहेको छ भने २० प्रतिशत अर्थात् ४९ लाख ३२ हजार ८७६ कित्ता सर्वसाधारण सेयर छ ।
कारोबार मूल्यको आधारमा कम्पनीको आइतबारको बजार पुँजीकरण ५ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको सेयर आइतबार २२२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको चुक्ता पुँजी भने २ अर्ब ४६ करोड रहेको छ ।
पछिल्लो ५ महिनाको तथ्यांक हेर्ने हो भने यस कम्पनीको न्यूनतम सेयर मूल्य र अधिकतम् २२२ रहेको छ । यस कम्पनीले २०७७/७८ मा १८.५२५ प्रतिशत बोनस र ०.९७५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपश्चात कम्पनीले लाभांश वितरण गर्न सकेको छैन ।
कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ०.३७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १०१.३३ रुपैयाँ रहेको छ । पिई रेसियो ४११.०१ रहेको छ । कम्पनीले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छैन । न्यून्तम ईपीएस र नेटवर्थसँगै पछिल्लो केही वर्षयता लाभांश दिन नसकेको यस कम्पनीको सेयर मूल्यमा नै सर्किट लागेको छ ।
यस्तै, आइतबार सकारात्मक सर्किट लाग्ने दोस्रो कम्पनी हो नेरुडे मिर्मिरे लघुवित्त । यस लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँ पुगेको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम ४८० रुपैयाँमा कारोबार भएको छ भने सबैचन्दा उच्च ९०२ रुपैयाँमा कारोबार भएको छ ।
आइतबार कम्पनीको २ लाख ३० हजार कित्ता सेयर कारोबार भएको छ । लघुवित्तको १ करोड ३९ लाख ७७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१.४९ अर्थात् ७१ लाख ९६ हजार कित्ता संस्थापक सेयर र ४८.५१ अर्थात् ६७ लाख ८१ हजार सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०७८/७९ मा २३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १.१५७९ प्रतिशत नगद र २२ प्रतिशत बोनस गरेर कुल २३.१५७९ प्रतिशत लाभांश बढेको छ ।
कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी ३२.८१ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१४ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७८.५८ रहेको छ । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुन सकेको छैन ।
यस्तै, आइतबार एचआईडीसीएलको पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको २७ रुपैयाँ मूल्य बढेर २९८ रुपैयाँ पुगेको छ । आइतबार कम्पनीको १२ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २२ करोड ८७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक सेयर रहेको छ भने २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ ।
पछिल्लो ५२ हप्तामा कम्पनीको सबैभन्दा कम १५४ रुपैयाँ र सबैभन्दा उच्च २९८ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले २०७९/८० मा नगद लाभांश ५.२६३ प्रतिशत वितरण गरेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६.३८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो भने २६.२२ रहेको छ ।
आइतबार खानीखोला हाइड्रोपावर कम्पनीको आइतबार सेयर २७.८० रुपैयाँले बढेर ३०५.८० रुपैयाँ पुगेको छ । कम्पनीको आइतबार २ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा कम्पनीको ४६ लाख ५७ हजार बिज्ञा सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारण सेयर रहेको छ ।
कम्पनीले हालसम्म लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको तेस्रो त्रैमासिक रिपोर्टअनुसार प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८५.०१ रुपैयाँ रहेको छ । त्यस्तै, पिई रेसियो पनि २४१.७७ ऋणात्मक रहेको छ ।
आइतबार सकारात्मक सर्किट लाग्ने मध्येको कम्पनी आखुखोला जलविद्युत पनि हो । कम्पनीको सेयर १९.८० रुपैयाँ बढेर २१७ रुपैयाँ कायम भएको छ । पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर सबैभन्दा कम १४१ रुपैयाँ र सबैभन्दा उच्च २५० रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत रहेको छ । जसमध्ये ७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार प्रतिसेयर आम्दानी ०.४३ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ रहेको छ भने पिई रेसियो ५०२ प्रतिशत रहेको छ ।
यस्तै, आइतबार सकारात्मक सर्किट लागेको अर्को कम्पनीको हो अपर तामाकोशी हाइड्रोपावर । आइतबार कम्पनीको सेयर २१ रुपैयाँले बढेर २३४ रुपैयाँ कामय भएको छ । पछिल्लो ५२ हप्तामा सबैभन्दा कम १५२ रुपैयाँमा र सबैभन्दा धेरै २६७ रुपैयाँमा कारोबार भएको छ ।
कम्पनीको २४ लाख ५१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमास अनुसार प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ रहेको छ ।
यस्तै, आइतबार शुभम पावरमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार ८२ रुपैयाँ बढेर ९०२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको नेप्सेमा २० लाख कित्ता सेयर सूचीकृत छ । जसमध्ये ७० प्रतिशत संस्थापक सेयर रहेको छ भने ३० प्रतिशत सर्वसाधारण सेयर छ ।
कम्पनीको पछिल्लो ५२ सातामा न्यूनतम ६१५ रुपैयाँमा र अधिकतम् १०७३ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक अनुसार प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ पनि ८७.२३ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै पिई रेसियो १३९.९४ प्रतिशत रहेको छ ।
आत्मानिर्भर लघुवित्तमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको आइतबार सेयरमूल्य २९० रुपैयाँ मूल्य बढेर ३ हजार १९० रुपैयाँ पुगेको छ । नेप्सेमा ६ लाख ८५ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ६७ प्रतिशत संस्थापक र ३२ प्रतिशत सर्वसाधारण सेयर रहेको छ । कम्पनीले २०८०/८१ मा ५ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५ प्रतिशत लाभंश वितरण गरेको छ ।
आइतबार मिड सोलु हाइड्रोमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ बढेर ९५९ रुपैयाँ पुगेको छ । यस कम्पनीको नेप्सेमा ७४ लाख ८४ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्ये ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण सेयर रहेको छ ।
कम्पनीको २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ३.८५ रुपैयाँ रहेको छ भने नेटवर्थ १०२.६३ रुपैयाँ रहेको छ । पछिल्लो ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् ९५९ रुपैयाँ र न्यूनतम् २९४ रुपैयाँ कायम छ ।
आइतबार सेयर लगानीकर्ताले ‘लो क्याप’ अर्थात् कम मूल्य भएका कम्पनीहरू छानेको देखिन्छ ।