
नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्ने सेवाग्राही । तस्बिर : सौगात पुडासैनी
काठमाडौं । कपनका रवि मिश्र बिहान १० बजे अफिस पुग्छन् । अफिसमा एक घण्टा काम गरेर उनी आफ्नो टीएमएस खाता भएको ब्रोकर कार्यालयमा दौडिहाल्छन् । हातमा ल्यापटप लिएर उनी दिनभर ब्रोकर कार्यालयमै बस्छन् । उनले त्यहीँबाट सेयर किनबेच गर्छन् । पछिल्लो समय रविको दैनिकी यसरी नै बितिरहेको छ ।
‘सेयर बजार घटेको बेला यहाँ आउन मन लाग्दैन, कारोबार नै गर्न मन लाग्दैन, अहिले बजार बढेको छ । घर र अफिसमै बसेर कारोबार गर्न मन लाग्दैन, त्यसैले आजभोलि मेरो दैनिकी यही ब्रोकर कार्यालयमा बित्ने गरेको छ,’ उनले विकासन्युजसँग भने ।
उनी सेयर बजार १९०० मा रहेको बेला केही सामान्य लगानीबाट दोस्रो बजार प्रवेश गरेका हुन् । सुरु-सुरुमा अरुले भनेकै आधारमा मात्रै लगानी गर्नाले आफूले धेरै गुमाउनु परेको उनको अनुभव छ ।
‘सुरुमा नबुझेर गुमाइयो । तर, अहिले बजार बुझिसकेँ, आफैं विश्लेषण गरेर लगानी गर्छु, कारोबार अवधिभर ब्रोकर कार्यालयमै आएर बस्छु, सबै साथिहरूसँग सल्लाह सुझाव लिएर कारोबार गर्न पनि राम्रै हुन्छ,’ उनी भन्छन्, ‘समूहमा बस्दा अन्य लगानीकर्ताको मनोबल पनि बुझिन्छ ।’

नासा सेक्युरिटिजकाे कार्यालय । तस्बिर : सौगात पुडासैनी
सातदोबाटोका नवराज निरौलाको दैनिकी पनि आजभोलि ब्रोकर कार्यालयमै बित्छ । उनी बिहान बजार नखुल्दै ब्रोकर कार्यालयमा प’छन् । दिनभर सोही कार्यालयमै बसेर साँझ मात्रै घर फर्किन्छन् ।
‘अहिले पोर्टफोलियो राम्रो बन्दै गएको छ, कमाउने बेलामा घर बसेर हुँदैन, कार्यालयमै आएर कारोबार गर्दा धेरै कुरा थाहा हुन्छ,’ उनी भन्छन् ।
हिजोआज धेरै लगानीकर्ताहरू ब्रोकर कम्पनीमा नै पुगेर दिनभरि गफिदै कारोबार गरिरहेको भेटिन्छन् । अहिले सेयर बजार बढ्दा लगानीकर्ताको भीड ब्रोकर कार्यालयमा देखिन्छ ।

मदन पौड्याल, प्रबन्ध सञ्चालक, नासा सेक्युरिटिज ।
नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्याल सेयर कारोबार बढेसँगै ब्रोकर कार्यालयहरुमा लगानीकर्ताको चहलपहल बढेको बताउँछन् । पहिले कार्यालय सुनसान हुन्थ्यो, हिजोआज दिनभर चहलचहल हुन्छ, लगानीकर्ताहरू कार्यालयमै आएर गफिदै कारोबार गरिरहनु भएको छ,’ उनले भने ।
सेयर परिसूचकमा उत्साह आउँदा डिम्याट र ब्रोकर खाता खोल्न आउने नयाँ लगानीकर्ताको संख्या पनि उल्लेख्य बढेको उनी बताउँछन् । उनका अनुसार डिम्याट र ब्रोकर खाता खोल्नेको संख्या पनि पछिल्लो समय बढेको छ । केही मानिसहरु बजारबारे परामर्श लिन पनि आउने गरेको उनको भनाइ छ ।
विगतमा घरमै बसेर कारोबार गरिरहेका लगानीकर्ताहरू पनि अहिले ल्यापटप बोकेर ब्रोकर कम्पनीमै आउने गरेको उनको भनाइ छ । ब्रोकर कम्पनीहरूमा राखिएको ठूलो स्क्रिनमा कारोबारको लाइभ हेर्दै कारोबार गर्ने गर्ने गरेको उनको भनाइ छ ।
लगानीकर्ताहरू नेप्सेमा छाएको उत्साह केही समय टिक्नेमा आशावादी छन् । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५४ लाख जनाले मेरो सेयर र ६३ लाखले डिम्याट खाता खोलेका छन् । यो संख्या अझैं बढ्न सक्ने ब्रोकर कार्यालयहरु बताउँछन् ।
सागर ढकाल, अध्यक्ष, हिमालयन ब्रोकरेज ।हिमालयन ब्रोकरेजका अध्यक्ष सागर ढकाल पनि पछिल्लो समय ब्रोकर कम्पनीहरूमा चहलपहल बढ्दै गएको बताउँछन् । ‘कारोबार बढ्दै जाँदा कम्पनीमा चहलपहल बढ्नु स्वाभाविक हो, पछिल्लो केही समययता कम्पनीहरूमा लगानीकर्ताहरूको चहलपहल बढेको छ,’ उनी भन्छन्, ‘कम्पनीमै ल्यापटप लिएर आउनुहुन्छ, दिनभर आफ्नो इच्छाअनुसारको सेयर किनबेच गर्नुहुन्छ, डिम्याट र ब्रोकर खाता खोल्ने तथा बजारबारे केही जान्न बुझ्न खोज्ने मानिसहरु पनि पनि आउनुहुन्छ, विगतको तुलनामा चहलपहल बढेको छ ।’
बजारमा थोरै करेक्सन आउँदा पनि लगानीकर्ताहरू भने प्रोफिट बुक गर्नमा व्यस्त देखिन्छन् । सेयर बजारमा पछिल्लो समय एक किसिमको उत्साह आएको छ । आइतबार मात्रै सेयर बजारमा नयाँ रेकर्ड नै कायम भयो । आइतबार सेयर बजारमा पौने २६ अर्बको कारोबार भयो । जुन हालसम्मकै उच्च हो । सोमबार पनि बजार बढिरहेको छ ।