सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को प्रतिफल घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ ले इकाईधनीहरूलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिफल घोषणा गरेको हो । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यस योजनाले इकाईधनीहरूलाई ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । सिद्धार्थ क्यापिटलले उक्त म्युचुअल फन्डका इकाईधनीहरूलाई करसहित ५ करोड ६४ लाख ६ हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ ।

सेयर बजारबाट साउनमै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

काठमाडौं । सेयर बजार उचाइमा पुग्दै नयाँ रकेर्ड बनाउँदा सरकारले पनि लाभकरमा रेकर्ड कायम राखेको छ । दैनिक २० देखि ३० अर्बको कारोबार हुन थालेपछि सेयर बजारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर उच्च संकलन भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमै पुँजी बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । जबकी गत वर्षभरी सरकारले सोही रकम हाराहारीमा मात्रै पुँजीगत लाभकर उठाएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पुँजी बजारका लगानीकर्ताबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । साउनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा एकपछि अर्काे रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो । पछिल्लो समय नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ भने कारोबार पनि करिब ३० अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ ।

विशाल ग्रूपले बिक्रीमा राख्यो नेपाल रिमा रहेको साढे ३१ करोडको सेयर

काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । रिइन्स्योरेन्स कम्पनीले विशाल ग्रूपको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । विशाल ग्रूपले रिइन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको ७ लाख कित्ता सेयर आज भदौ ५ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असोज ८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।