३००० नाघेको नेप्से २७०० मा झर्‍यो, अबको बाटो बुल कि बियरिस ?

काठमाडौं । सेयर बजार परिसूचक नेप्से १०० अंकभन्दा धेरैले घटेको छ । मंगलबार  नेप्से १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३३० कम्पनीको १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन २० कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको मूल्य स्थिर रहेको छ । सूचीकृत १३ उपसमूहमध्ये होटल तथा पर्यटन समूह ०.४३ प्रतिशत बढेको छ । बाँकी सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै बैंकिङ समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहका लगानीकर्ताले ४.९२ प्रतिशतले गुमाएका हुन् । मंगलबार तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । पछिल्लो केही दिन यता बजार निरन्तर घट्न थालेसँगै फेरि बियरिस सुरु भएको होकि भन्ने अनुमान पनि गर्न थालिएको छ । तर, केहीले भने यो करेक्सन रहेकोले अब सेयर बजार माथि जाने लाइनमा रहेको धारणा पनि राखिरहेका छन् ।

कुमारी क्यापिटलले घोषणा गर्याे इक्वीटी फण्ड र धनबृद्धि योजनाको लाभांश

काठमाडौं । कुमारी क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापन कुमारी क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको हो । भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको हो । कम्पनीले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रभु महालक्ष्मी लाइफको हकप्रद सेयर पुनरावलोकन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेपछि हकप्रद सेयर पुनरावलोकन गरेको हो । नेपाल बीमा प्राधिकरणको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले हकप्रद सेयर पारित गर्ने कम्पनीले जनाएको छ ।