धितोपत्र विधेयक आफूले बनाएको पायोनियरद्वार स्वीकार, खारेजी गर्न संसदमा माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निजी कम्पनीले ड्राफ्ट तयार पारेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले धितोपत्र सम्बन्धी ऐन सशोधन माथि प्रश्न गरेकी हुन् । उनका अनुसार धितोपत्र सम्बन्धी संशोधन विधेयकको ‘प्रपोट्रिज’मा कुनै अमुक ‘ल फर्म’ संस्थाको नाम उल्लेख छ । लगानीकर्ताको लगानी संरक्षण गर्ने महत्वपूर्ण विधेयक अर्थ मन्त्रालयले निजी कम्पनीलाई मस्यौदा गर्न दिएको उनको भनाइ छ । ‘संसदको वेवसाइटमा भएको धितोपत्र ऐन संशोधन सम्बन्धी विधेयक डाउनलोड गरेर राइट क्लिक गरेर पर्पटिज हेर्याे भने त्यसको अथर के छ ? एउटा अमुक ल फर्मको नाम छ, त्यसमा । के अर्थमन्त्रालयको माइक्रोसफ्ट वर्ड त्यो ल फर्मले किनेको हो कि ?, त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ?’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण विधेयक कर्मचारीले ड्राफ्ट गर्छ कि सरकारले गर्छ कि कुनै ल फर्मले गर्छ ? आउट सोर्सले गरेको भए त्यसको डकुमेन्टेसन चाहियो ।’ उनले यदि धितोपत्र ऐन संशोधन सम्बन्धी विधेयक अमुक ल फर्ममा डेभलप गरेको भए खारेज गरेर फेरी अर्काे दर्ता गर्नुपर्ने उनले माग गरिन् । साथै नेपालको जुनसुकै विधेयक पनि कर्मचारीले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले गर्छ भनेर प्रश्न समेत गरिन् । धितोपत्र बोर्ड जस्तो गम्भिर विषयमा बाहिरबाट हस्तक्षेप हुनु गम्भिर भएको भन्दै उनले यसको स्वतन्त्र छानबिन हुनुपर्ने पनि बताइन् । ‘संसदमा छलफल भएको विधेयक कहाँ मस्यौदा भएको ? डकुमेन्ट मै हेर्दा देखिन्छ, एउटा संस्थाले गरेको देखिन्छ । विधेयकमा सबैको सहभागिता चाहिन्छ । तर, मस्यौदा गर्ने अधिकार एउटा संस्थाको हुन सक्दैन,’ उनले भनिन्, ‘यो सानो विषय हैन । यो तत्काल अनुसन्धान गर्नु पर्ने विषय हो । संसद्ले बोल्नु पर्ने विषय हो । धितोपत्र वोर्ड जस्तो विषयमा यस्तो बाहिरिया हस्तक्षेप जोखिमपूर्ण हुन्छ ।’ सांसद श्रेष्ठले संसदमा पेस भएको उक्त विधेयकको मस्यौदा पायोनियर ल एसोसिएट्सबाट तयार भएकाे स्क्रीनसट सार्वजनिक गरेकी छिन् । उक्त विधेयक अर्थ मन्त्रालयले मस्यौदा गरेर संसद्मा पेस गरेको थियो । पायोनियर ल एसोसिएट्सका साझेदार तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद रिजालले भने आफूहरूले मस्यौदा तयार पारेको स्वीकार गरेका छन् । ‘नेपाल सरकारले आधिकारिक रूपमा जिम्मेवारी दिएपछि हामीले तयार पारेका हौं,’ उनले भने । सांसद श्रेष्ठले लगाएको आरोपबारे भने अर्थमन्त्रीको सचिवालयले यस विषयमा जानकारी नभएको बताएको छ । तर, सरकारले पेस गर्ने डकुमेन्ट भने कुनै ल फर्मले ड्राफ्ट नगर्ने सचिवालयको दाबी छ । सरकारले ल्याउने ऐन, नियम, विधेयक वा संशोधनको मस्यौदा तयार पार्ने काम निजी कम्पनीले गर्न नपाउने एक अधिवक्ताले बताए । तर, नदेखिने गरी मस्यौदा तयार गर्ने गरेको उनको भनाइ छ । ‘सरकारका ऐन, कानुनको मस्यौदा निजी ल फर्मले तयार पार्न मिल्दैन । तर, मन्त्रीको नजिकका मान्छेको ल फर्म छ भने उनीहरूलाई नै मस्यौदा ड्राफ्ट गर्न दिइन्छ, त्यसमा कुनै अचम्म मान्नु पर्दैन, यो नियमित प्रक्रिया हो,’ एक अधिवक्ताले भने, ‘निजी कम्पनीले प्रत्यक्ष रुपमा तयार पार्दैनन्, भित्रभित्रै उनीहरूलाई दिइएको हुन्छ ।’ वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित धितोपत्र सम्बन्धि ऐन संशोधन विधेयकको मस्यौदा नेपाल धितोपत्र बोर्डले नै तयार पार्नुपर्ने बताउँछन् । धितोपत्र सम्बन्धि ऐन संशोधनका लागि बोर्डमै प्रयाप्त कर्मचारी रहेकाले अन्य ल फर्मलाई दिन आवश्यक नरहेको उनको भनाइ छ । ‘कुनै ल फर्मलाई दिनुपर्दैन, बोर्डमै तीन/चार जना वकिल छन,’ उनले भने, ‘कुनै स्वार्थ समूहले तयार पारेर पेस गरेको जस्तो देखिन्छ, यसमा केही चलखेल भएको देखिन्छ, ल फर्मममा जानुपर्ने विषय नै होइन ।’
सेयर बजार सामान्य बढ्दा पनि लगानीकर्ताको सम्पत्ति ६० अर्ब ३५ करोड रुपैयाँ बढ्यो
काठमाडौं । दिनभरिको उतारचढाव पछि पुँजी बजार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.८० अंक बढेर २ हजार ७८६.४० अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक ११२ अंक घटेको थियो । साथै आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १ लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार बुधबार सेयर बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसअघि हिजो ४४ खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण थियो । हिजोको तुलनामा बजार पुँजीकरण ६० अर्ब ३५ करोड रुपैयाँ सेयर बजार पुँजीकरण बढेको हो । सूचीकृत कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पुँजीकरणका रूपमा लिइन्छ । बुधबार बैंकिङ समूह ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०९ प्रतिशत, जलविद्युत समूह ०.४९ प्रतिशत, लगानी समूह १.०१ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.०३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९३ प्रतिशत र अन्य समूह ०.०९ प्रतिशत बढेको छ । तर, विकास बैंक समूह ०.८० प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत, जीवन बीमा समूह ०.४४ प्रतिशत, लघुवित्त समूह १.०८ प्रतिशत, निर्जीवन बीमा समूह ०.९७ प्रतिशत र व्यापार समूह १.४३ प्रतिशत घटेको छ । आज विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । साथै चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९४९ रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । यस्तै नेपाल फाइनान्सको ४१ करोड ५९ लाख १८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख ५७ हजार रुपैयाँ, अपि पावर कम्पनीको ३३ करोड ९७ लाख ४४ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३२ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले बुधबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले एक समारोहबीच यससम्बन्धी समझदारीपत्रमा संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।