काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि इन्स्योरेन्स कम्पनीले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रतिसेयर मूल्य १ सय रुपैयाँको दरमा सर्वसाधारणमा निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्यसहित स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आएको छ ।
यही भदौ ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।