काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको जवाफ पठाएको छ । धितोपत्र बोर्डले साउन २४ गते सीआईबीलाई पत्रको जवाफसहित प्रतिवेदन पठाएको कार्यकारी निर्देशक विनयदेव आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक जाँचबुझ समितिले अध्ययन गरेर तयार पारेको प्रतिवेदन धितोपत्र बोर्डका अध्यक्षको सचिवालयमार्फत सीआईबीलाई पठाइएको हो । प्रतिवेदनमा के उल्लेख गरिएको छ भनेर आफूलाई जानकारी नभएको उनले बताए ।
सेबोन स्रोतले भने प्रारम्भिक जाचबुझ समितिले तयार पारेको प्रतिवेदनमा रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय सही रहेको दाबी गरेको छ । चार्टर्ड एकाउन्टेन्ट (सीए)हरूले गरेको अडिट सही नै रहेको भनेर बोर्डले सीआईबीलाई पठाएको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको भनाइ छ ।
रिलायन्सको वित्तीय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरी परेपछि यसबारे सत्यतथ्य जानकारी दिन भन्दै सीआईबीले गत असार २६ गते सेबोनलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनको व्यवस्था अनुसार बोर्डले साउन २४ गते प्रतिवेदन बुझाएको हो ।