१ अर्ब ७३ करोडको सेयर कारोबार
काठमाडौं । धितोपत्र बजारमा गत साता १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)का अनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.८६ अंकले बढेर अन्तिम दिन १ हजार ४०४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको ६ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस
सूर्योदय लघुवित्तले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले बिहीबार मात्रै सो मात्रा अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । लघुवित्तले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद पश्चात संस्थाको पुँजी ७ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।
सेयर बजार ९ अंकले उकालो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया
काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारकाे बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियाे । कुल १५९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमामाई हाइड्रोपावरको ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबार रकमका आधारमा पनि सानिमामाई हाइड्रो नै अग्रस्थानमा रहेको छ । बिहीबार यस हाइड्रो एक करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा १० वटा समूहको कारोबार भएको छ । सो मध्ये विकास बैंक र अन्य समूहको सूचक सामान्य अंकले राताम्मे भएका छन् भने बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ३०, होटल २७ र माइक्रोफाइनान्स समूह २२ अंकले उकालो लागेका छन् । त्यसैगरी, सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।