बुटवल पावरले ४० लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु-एफपिओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले चैत १३ गते धितोपत्र बोर्डमा निवेदन दिएर एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ ।

एनआईसी एशियाको १५ प्रतिशत हकप्रद खुला, वैशाख १९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वसाधारणको लागि १५ प्रतिशत (अर्थात १०० बराबर १५ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत १६ गते (बुधबार)देखि एक सय अंकित दरको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले काठमाडौंको सुन्धारमा रहेको सिभिल क्यापिटल मार्केट र बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंमा रहको एनआईसी एशिया बैंक तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद निष्कासन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल बैंकले पायो २३.७४ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल बैंकले पनि २३.७४ प्रतिशत (१०० बराबर २३.७४ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले मंगलबार नै बैंकलाई १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटल मार्केटले गरिरहेको बोर्डले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ५ अर्ब ५४ करोड रुपैयाँ नाग्ने छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।