ज्योति र पूर्णिमाले हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

काठमाडौं । ज्योति विकास बैंक र पूर्णिमा विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । सो प्रयोजनको लागि अनुमति माग्न दुबै बैंक नेपाल धितोपत्र बोर्ड पुगेका छन् । ज्योति विकास बैंकले शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद जारी गर्ने अनुमति मागेको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँको एक करोड १० लाख ४३ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले चैत १५ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब १० करोड ४३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो । त्यस्तै, पूर्णिमा विकास बैंकले पनि २५ प्रतिशत (४ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति मागेको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँको ८ लाख ८० हजार ९६२ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिद्धार्थ क्यापिटल मार्फत ८ करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने

काठमाडौं । अबदेखि आइपीओ फारम भर्दा नागरिकता र फोटो नचाहिने भएको छ । धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा दरखास्त दिने प्रक्रियालाई थप सहज गरी लगानीकर्ताहरुलाई सुविधा दिने उद्देश्यले यो व्यवस्था गर्न सम्पूर्ण निष्काशन तथा बिक्री प्रवन्धकलाई परिपत्र गरेको छ । पछिल्लो समयमा आइपीओ भर्नको लागि डिम्याट खाता अनिवार्य गरिएको र आस्वा प्रणाली कार्यान्वयनमा आएकाले यो व्यवस्था लागू गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार डिम्याट खाता खोल्दा नागरिकताको फोटोकपि र फोटो पेश गरिएको हुनाले थप झन्झट हुने व्यवस्था नगर्न र लगानीकर्तालाई सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था लागु गर्न लागिएको हो । तर यो व्यवस्था उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले दरखास्त दिने हकमा लागू नहुने बोर्डले जनाएको छ ।

एशियन लाईफको १३ करोड ४२ लाख रुपैयाँ बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ तथा नवौँ साधारणसभाले पारित गरेको हो । साथै, सभाले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त हकप्रद बोनस सेयर वितरण पश्चात निष्कासन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९२ हजार ४०० रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले संस्थापक सेयरधनी समूह ‘क’ वर्गबाट बिजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित भएका छन् ।