स्वरोजगार लघुवित्तको एक लाख ३२ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । आइतबार स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ३२ हजार ९९७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अघि कम्पनीको ६ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१९ रुपैयाँ रहेको छ ।

बीमा तिर तानिए लगानीकर्ता, ३८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी नाफा

काठमाडौं । बीमा कम्पनीको चुक्ता पुँजी बढ्ने चर्चाले बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । शुक्रबार बीमा समितिको सञ्चालक समितिको बैठकले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि लगानीकर्ताहरु बीमा कम्पनीतिर तानिएका हुन् । ७९ अंकले बढेको साताको पहिलो दिन सेयर बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी ९ कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । कमाउने मध्ये पनि ३८ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । जसमा ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने बाँकी ३० कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी(१० प्रतिशत भन्दा कम) कमाएका छन् । प्राय बीमा कम्पनीका लगानीकर्ताले पुरा १० प्रतिशत कमाएका छन् । हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, नेपाल ग्रामीण विकास बैंक र राष्ट्रिय बीमा कम्पनी लि. प्रमोटरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, ९ प्रतिशत बढी(१० प्रतिशत भन्दा कम) कमाउनेमा बीमा कम्पनीका लगानीकर्ता आगाडी रहेका छन् । आइतबार बीमा समूहको परिसूचक ७३३ अंकले बढेको छ । साथै, अन्य समूहको परिसूचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ । कारोबार रकमका आधारमा पनि बीमा समूह अगाडी रहेको छ । बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको १२ करोड ९१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५५ रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको पनि ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४९० रुपैयाँ रहेको छ ।

नेप्से ५ प्रतिशतले बढेपछि आइतबारको सेयर कारोबार बन्द, बीमाको सूचक ७३३ अंकले वृद्धि

काठमाडौं । आइतबार स्वाभाविक समयभन्दा करिब साढे दुई घण्टा अघि नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब साढे २ घण्टामै ५ दशमलब प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो । बिमा कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि आएपछि सेयर बजारमा सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो । कारोबार बन्द हुँदा बीमा समूहको परिसूचक ७३३ अंकले बढेको छ । साथै, बीमा लगाएत अन्य समूूहको परिसूचक पनि दाहोरो अंकले उकालो लागेका छन् । बजार बन्द हुँदा नेप्से परिसूचक ७९ दशमलब ४७ अंकले बढेर १६६७ अंकमा पुगेको छ । बजारमा ९४ करोड ३७ रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार बजार खुलेको दुई घण्टामा नै परिसूचक ४ प्रतिशतले बढेपछि ३० मिनेटका लागि कारोबार रोकिएको थियो ।