प्रज्ञान सेक्युरिटिजको कारोवार रोक्का
काठमाडौं । प्रज्ञान सेक्युरिटिज प्रा. लि. को कारोबार रोक्का भएको छ । विराटनगर स्थित कार्यालयबाट सिभिल बैंक लि. ले जारी गर्न लागेको हकप्रद शेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएकोले उक्त सेक्युरिटिजको कारोबार रोक्का भएको हो । यस विषयमा बोर्डले आवश्यक छानविन कार्य अगाडि बढाएको छ । साथै, उक्त छानबिन कार्य सम्पन्न नभइन्जेलसम्मको लागि प्रज्ञान सेक्युरिटिजलाई जेठ ८ गतेदेखि निलम्बन गरी धितोपत्र कारोवार गर्न रोक लगाइएको बोर्डले जनाएको छ ।
स्वदेशी लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले केही समय अगाडि निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ५० कित्तादेखि ११२० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यस्तै, ११३० कित्तादेखि १२८० कित्ता सम्म आवेदन गर्नेले कम्तिमा १० कित्ता पाएका छन् । १२९० कित्ता देखि १३९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले र १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका एनएमबी क्यापिटलले जनाएको छ । कम्पनीको तीन लाख कित्ता सेयरको लागि ९२ हजार जनाले आवेदन दिएका थिए । जस मध्ये २५३० जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । त्यस्तै, कुल आवेदन परेको मध्ये १२०२ जनाको आवेदन रद्द भएको बिक्री प्रवन्धकले जनाएको छ ।
यूनाइटेड मोदीको एक करोड १५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको एक करोड १५ लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । हाल कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ ।