सेयर बजार फेरी ओरालो, अर्थमन्त्री देखि गभर्नरका टिप्सले पनि काम गरेन
काठमाडौं । पुँजी बजारको विकासका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा बुधबार अर्थमन्त्रीदेखि गभर्नरसम्मले लगानीकर्तालाई टिप्स सुनाए तर सेयर बजार भने ओरालो नै लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहाद’र कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपाल र नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सेयर बजारमा लगानी गर्दाका जोखिम र त्यसबाट बच्ने उपाय सुनाएका थिए । खचाखच भरिएका लगानीकर्ताले उनीहरुका टिप्स सुने, ताली बजाए तर सोही दिन सेयर बजार भने फेरी पनि ओरालो लाग्यो । बुधबार सेयर बजार ४.८७ अंकले आरोलो लागेर १३५६.१५ अंकमा झरेको छ । १६० कम्पनीको कारोबार भएको बजारमा कुल ३४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा अन्य समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १८ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी सिन्धु विकास बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी समाता माइक्रोफाइनान्सको सेयर मूल्य ३.९१ प्रतिशतले बढेको छ ।
वोमी माइक्रोफाइनान्सको जेठ ४ गते बुक क्लोज, ३० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आगामी जेठ ४ गते बुक क्लोज हुने भएको छ । संस्थाले ३० प्रतिशत अर्थात (१० बराबर ३को अनुपातमा हकप्रद जारी गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज हुन लागेको हो । उक्त निर्णय संस्थाको १०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १० करोड रुपैया नाघ्ने छ । पछिल्लो समय यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १७५८ रुपैयाँमा कारोबार भएको छ ।
तीन कम्पनीको ३५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?
काठमाडौं । बुधबार विभिन्न तीन कम्पनीको ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन कन्काई विकास बैंक, काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएका छन् । कन्काईको बोनसपछि र काबेली विकास बैंक र इन्भेष्टमेन्ट फाइनान्सको हकप्रद पछिकाे सेयर थपिएका छन् । सो मध्ये कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, काबेली विकास बैंकको ३ लाख ५० हजार ८८० र इन्भेष्टमेन्ट फाइनान्सको २६ लाख ६७ हजार २२५ कित्ता हकप्रद नेप्सेमा थपिएको छ ।