जेबिल्स फाइनान्सले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, पूँजी ८० करोड नाघ्ने

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन पश्चात कायम हुने पूँजीमा सो मात्राको सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउन सो निर्णय गरेको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाले पारित गरे बमोजिम चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । सभाले पारित गरेको कम्पनीको उक्त निर्णय हाल नेपाल धितोपत्र बोर्डमा प्रकृयामा रहेको छ । उक्त १०० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सोही पूँजीमा पुनः ४० प्रतिशतका दरले हुन आउने २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । त्यस पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै, उक्त ४० प्रतिशत हकप्रद सेयर आगामी विशेष साधारणसभाबाट पारित गरी स्वीकृत लिनु पर्ने निकायहरुबाट स्वीकृत पश्चात मात्र निष्काशन गरिने कम्पनीको संचालक समितिको बैठकले निर्णय गरेको छ ।

मंगलबारकाे सेयर बजार दोहोरो अंकले ओरालो, ५० करोड माथिको सेयर कारोबार

काठमाडौं । मंगलबार सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९ दशमलब ९९ अंकले ओरालो लागेर १६४९ दशमलब २४ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा ५० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको २८ लाख २१ करोड कित्ता सेयर किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४६ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने ३० अंकले उकालो लागेको हो ।

मंगलबार मात्रै २ करोड ४९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क- कसको कति?

काठमाडौं । मंगलबार मात्रै २ करोड ४९ लाख २६ हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एकै दिन एक करोड १३ लाख ३३ हजार ७७५ कित्ता बोनस र एक करोड ३५ लाख ९२ हजार ७२५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । मंगलबारको बजारमा करिब ८ कम्पनीको सेयर सूचिकृत भएको छ । त्यसमध्ये ५ वटा कम्पनीको बोनस सेयर र बाँकी कम्पनीको हकप्रद सेयर सुचिकृत भएकोे छ । सेती फाइनान्सको ८ लाख ३४ हजार ४०० कित्ता बोनस र हिमालयन बैंक लि को ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको ८५ लाख २२ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता वेष्र्टन डेभलपमेन्ट बैंकको १५ लाख ६९ हजार ६०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । नमस्ते वित्तीय संस्थाको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । कम्पनीको ९० हजार कित्ता बोनस र ३ लाख ७५ हजार कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । सोही दिन जेबिल्स फाइनान्स र फेवा विकास बैंकको क्रमशः ३ लाख २१ हजार ६२ कित्ता र २० लाख ४९ हजार ७०० कित्ता बोनस सेयर सूचिकृत भएका छन् । त्यसैगरि, मञ्जुश्री फाइनान्सको पनि बोनस र हकप्रद गरि ४७ लाख ३७ हजार २८५ कित्ता सेयर नेप्सेमा थपिएको छ । कम्पनीको ३ लाख ५० हजार ९१० कित्ता बोनस र ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर एकै दिन नेप्सेमा थपिएको हो ।