लगानीकर्ताले विश्वास गुमाउँदा २७ अंकले बजार घट्यो, १ अर्ब ५० कराेडकाे काराेबार
काठमाडौं । लगातार १० दिनदेखि उकालो लाग्दै आएको सेयर बजार सोमबार आएर घटेको छ । निरन्तर बढेपछि सोमबार करेक्सन भएपनि घट्न थालेपछि लगानीकर्ताले धमाधम बिक्री बढाउदा यसको असर बजारमा परेको हो । सोमबारकाे बजार २७.६४ अंकले घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ४१० अंकमा झरेको छ । बजार घट्ने संकेत पाएपछि लगानीकर्ताले नाफा जोगाउन धमाधम सेयर बिक्रीका लागि ब्रोकरमा बुक गर्न थालेपछि यसको असर बजारमा परेको एक ब्रोकरले बताए । आइतबार ५० अंकले बढेर एैतिहासिक उछाल आएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । सोमबार परिसूचकमा गिरावट भएतापनि सेयर कारोबारमा भने सकारात्मक संकेत देखिएको छ । दोहोरो अंकले घटेको बजारमा पनि १७० कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र ट्रेडिङ समूह क्रमशः ९ र ५ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । सोमबार नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।
२० प्रतिशत हकप्रद पछि कुमारी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ रहेको थियो ।
रैराङ हाइड्रोपावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्न पायो अनुमति
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले उसलाई चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ । साउन यता बोर्डले विभिन्न १६ कम्पनीलाई २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको छ ।