नेप्से परिसूचक दोहोरो अंकले बढ्दा ७८ करोडको कारोबार, सबै समूह हरिया
काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार नेप्से परिसूचक १० दशमलब ११ अंकले उकालो लागेर १६२६ दशमलब ५१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सँगै करोबार रकममा पनि वृद्धि भएको छ । दोहोरो अंकले बढेको बजारमा ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २६ करोड रुपैयाँ बढी हो । सोमबार जम्मा ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार १४७ कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको बजारमा कारोबार भएका ८ वटै समूहहरु हरिया देखिएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ५५ अंकले उकालो लागेका छन् । त्यस्तै, बीमा, फाइनान्स, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २०, ११.३५,११.०७ र १०.९५ अंकले उकालो लागेका छन् । होटल, हाइड्रोपावर र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।
माछापुच्छ्रे र पूर्णिमा बैंकले हकप्रद सेयर निष्काशन गर्दै, कहिले हुँदै छ बुक क्लोज?
काठमाडौं । माछापुच्छ्रे बैंक र पूर्णिमा विकास बैंकले आ-आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशतका दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ । बैंकले निष्काशन गरेको उक्त सेयर जेठ १५ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरुले मात्र भर्न पाउने कम्पनीले जनाएको छ । त्यस्तै, पूर्णिमा विकास बैंकले पनि सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार १३२ रुपैयाँको आधारमा २५ प्रतिशत(४ः१ को अनुपातमा)को दरले हकप्रद निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि जेठ १६ गते बैंकको बुक क्लोज हुने भएको छ ।
सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, जेठ १६ गते बुक क्लोज
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।