कारोबार रकम बढ्ने क्रम जारी, मंगलबार ५३ करोडको सेयर किनबेच

काठमाडौं । केही दिनयता सेयर बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेकाे छ । नेपाल धितोपत्र बोर्डले केवाईसीमा कडाई गरेपछि एक्कासी घटेको कारोबार रकम पुनः सुधारतर्फ लागेको छ । मंगलबारको सेयर बजारमा ५३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिनको बजारमा कुल ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १६० कम्पनीको कारोबार भएको बजारमा १० लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । कारोबार संख्या र रकम दुबैको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ३ लाख ८५ हजार कित्ता प्रमोटर सेयर २२ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । अन्ततः मंगलबारको बजार ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक २४ अंकले घटेको छ । उत्पादनमूलक, माइक्रोफाइनान्स र होटल समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।

गण्डकी विकास बैंकको बोनस पछिको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १९.३१०६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २८० रुपैयाँ रहेको थियो ।

नागरिक लगानी कोषको लाभांशमा लगानीकर्ता लोभिए, सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार घटेपनि लगानीकर्ता नागरिक लगानी कोषको लाभांशमा लोभिएका छन् । लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २२.०६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । काेषले साेमबार बिहान मात्रै सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणा गरेकै दिन कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर १०१ चोटी कारोबार भएको यस कम्पनीको २ करोड ४१ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ७२५ रुपैयाँ रहेको छ । समग्रमाः नेप्से परिसूचक २.०६ अंकले घटेर १३३७.१३ अंकमा झरेको छ । सो दिन १६३ कम्पनीको ८ लाख ७ हजार सेयर ३५ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक ओरालो लागेको छ । बीमा ७६ अंकले ओरालो लागेको छ भने माइक्रोफाइनान्स समूह ३५ अंकले उकालो लागेका छन् । बजारमा होटल, उत्पादन र अन्य समूह सामान्य अंकले उकालो लागे पनि बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् । सोमबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार वित्तीय विकास बैंक र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले क्रमशः ६.९४ र ६.७६ प्रतिशत कमाएका छन् ।