सांग्रिलाले कसमसलाई मात्र प्राप्ति गर्ने, कम्युनिटीलाई किन्ने प्रस्ताव अस्वीकार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई मात्र प्राप्ति गर्ने भएको छ । कम्पनीले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तथा कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको थियो । तर सांग्रिलाको १२औँ वार्षिक साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । अर्थात सांग्रिलाले दुई कम्पनीमध्ये कसमस डेभलपमेन्ट बैंकलाई मात्र प्राप्ति गर्ने निणर्य गरेको छ । साथै, सभाले सांग्रिलाले कसमसलाई प्राप्ति पश्चात कायम हुने पूँजीको ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले कसमस डेभलपमेन्ट बैंकलाई एक बराबर एक कित्ता सेयर अनुपातमा प्राप्ती गर्ने भएको छ । कसमसलाई प्राप्ति गरेपश्चात सांग्रिलाको चुक्तापूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । जसमा ८० प्रतिशत हकप्रद जारी पश्चात बैंकको पूँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
प्रभु क्यापिटलले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, पूँजी २१ करोड पुर्याउने लक्ष्य
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई एक बराबर दुई अर्थात २०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शनिबार बसेको कम्पनीको विशेष साधारणसभाले संस्थाको पुंजी वृद्धि गरि २१ करोड रुपैयाँ पुर्याउनका लागि सो मात्राको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । उक्त सभा संचालक समितिका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा आफ्नो विशेष साधारण सभा सम्पन्न भएको थियो । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको उपस्थिती थियो । साथै, सभाले कम्पनीको ५१ प्रतिशत शेयर प्रभु बैंक लिमिटेडले खरिद गरि प्रभु क्यापिटल लिमिटेडलाई विधिवत सहायक बनाएको घोषणा गरेको छ ।
सातामा दुई अर्ब ८४ करोडको सेयर कारोबार, २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो साता भन्दा ५ दशमलब ८१ प्रतिशत बढी हो । दुई अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यस साता १५८ कम्पनीको का ५१ लाख २१ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको १७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ, जसको दुई लाख ४७ हजार कित्ताको सेयर किनबेच भएको हो । बजारमा सेयर कारोबारमा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.२७ अंकले घटेर अन्तिम दिन १६०४.३१ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक १९.७२ अंकले उकालो लागेको छ भने अन्य समूहको परिसूचक सबैभन्दा बढी २७.४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ समूहको परिसूचक पनि ओरालो लागेका छन् । सातामा २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत नेप्सेमा सूचिकृत भएका छन् । नेप्सेमा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । थप जानकारीको लागि यसमा क्लिक गर्नुहोस् ।