लाङटाङमा पर्यटक घट्दा आम्दानीमा गिरावट, ४.२८ करोड मात्र सङ्कलन
काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ । पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ । निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा भने हालसम्म ५० हजार ३६० पर्यटक मात्र निकुञ्ज पुगेका छन् । तीमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७८८ जना र अन्य मुलुकका १० हजार ५६१ जना रहेका छन् । पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा पनि असर परेको छ । गत आर्थिक वर्षमा ५ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षमा हालसम्म ४ करोड २८ लाख २२ हजार ७५६ रुपैयाँ मात्र सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन् । पर्यटनबाट प्राप्त राजस्वले निकुञ्ज संरक्षण, जैविक विविधताको व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
पोखराबाट दुबई उडान दिगो बनाउने कसरत, व्यवसायीसँग फ्लाइ दुबईको छलफल
काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा-दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए । पोखरा-दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ छ । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताए । सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए । पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा-दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताए । रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ । फ्लाइ दुबईको टोलीले केही समयअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने आसमा पर्यटन व्यवसायी छन् । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । झन्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।
पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, मूल्य कति ?
काठमाडौं । टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक प्रविधिसहितका यी दुई स्मार्टफोन नेपाली उपभोक्तामाझ ल्याइएको कम्पनीले जनाएको छ । कम्पनकिा अनुसार पोको एम८एस ५वस् मा ७ हवा एमएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ । जसले लामो समयसम्म निर्बाध रूपमा प्रयोग गर्न सकिने सुविधा रहेको छ । यसमा ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा तथा ८ मेगापिक्सेलको अगाडिको क्यामेरा समावेश गरिएको छ, जसले स्पष्ट र गुणस्तरीय तस्बिर तथा भिडियो खिच्न मद्दत गर्छ । यस स्मार्टफोनमा ६.९ इन्चको पूर्ण एचडी प्लस डिस्प्ले तथा अधिकतम १४४ हर्ज रिफ्रेस दर रहेको छ, जसले स्पष्ट, आकर्षक र सहज दृश्य अनुभव प्रदान गर्छ । फोनमा स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसर, अष्ट–कोर सीपीयू तथा एड्रेनो जीपीयू जडान गरिएको छ । त्यसैगरी पोको एम८ प्रो लाई एम८ सिरिजको थप उन्नत संस्करणका रूपमा प्रस्तुत गरिएको छ । यसमा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले, १.५के रिजोल्युसन, १२० हर्ज रिफ्रेस दर तथा अधिकतम ३,२०० निट्ससम्मको उज्यालोपन रहेको छ, जसले अझ उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । फोटोग्राफीका लागि यस स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको अगाडिको क्यामेरा समावेश गरिएको छ। साथै, ६,५०० एमएच क्षमताको ब्याट्री, १०० वाट हाइपरचार्ज तथा २२.५ वाट रिभर्स चार्जिङ सुविधाले यसलाई अझ प्रभावकारी बनाएको छ । ४ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसरले २.७ गिगाहर्जसम्मको गतिसहित अष्ट–कोर कार्यसम्पादन प्रदान गर्छ । यी दुवै स्मार्टफोन पानीका छिटा तथा धुलोबाट सुरक्षित रहने आईपी वाटर तथा डस्ट रेसिस्टेन्स सुविधासहित उपलब्ध छन् । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानका अनुसार, यी दुबै फोनले उत्कृष्ट कार्यसम्पादन, किफायती मूल्य र सहज फाइभ–जी अनुभवलाई एकैसाथ समेटेका छन् । दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार पारिएका यी स्मार्टफोनहरूले प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउँदै धेरै उपभोक्तासम्म गुणस्तरीय प्रविधिको पहुँच विस्तार गर्ने पोको को प्रतिबद्धतालाई थप सुदृढ बनाएका छन् । पोको एम८एस फाइभजी कालो र सेतो रङमा उपलब्ध छ । यसको ६ जीबी र्याम तथा १२८ जीबी भण्डारण क्षमता भएको संस्करणको मूल्य ३७ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी भण्डारण क्षमता भएको संस्करणको मूल्य ४४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, पोको एम८ प्रो फाइभजीको ८ जीबी र्याम तथा २५६ जीबी भण्डारण क्षमता भएको संस्करण कालो, हरियो र चाँदी रङमा उपलब्ध छ । यस स्मार्टफोनको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, पोको ले सबै मोडेलमा १ वर्षको आधिकारिक ब्रान्ड वारेन्टीसहित अधिकतम ९ महिनासम्मको किस्ता (इएमआई) सुविधा उपलब्ध गराएको छ । यी दुवै स्मार्टफोनहरू अब टेलिटकका आधिकारिक शोरुम, खुद्रा बिक्रेता तथा दराज मार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।