विश्वनिकेतन विद्यालयमा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाको संयुक्त अवलोकन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पोखरेल तथा नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त अवलोकन गरेका छन् ।

एडीबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालय भवन, विज्ञान प्रयोगशाला (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उनीहरूले निरीक्षण गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोड्युलको पाइलट कार्यक्रम पनि संयुक्त रूपमा शुभारम्भ गरे ।

शिक्षा तथा खेलकुद मन्त्रालय र एडीबीको प्राविधिक सहकार्यमा विकास गरिने उक्त अनलाइन तथा स्व-अध्ययन (सेल्फ–लर्निङ) आधारित तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान, डिजिटल सीप तथा आधुनिक शिक्षण प्रविधिबारे दक्ष बनाइने जनाइएको छ ।

कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय शिक्षाको डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा र गुणस्तरीय शिक्षाको विस्तारमा आगामी दिनमा पनि सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयका अनुसार एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, शिक्षा सुधार तथा क्षमता विकासका विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको छ ।

Share News