नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।  मन्त्री पोखरेलले भने, 'सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।'   नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, 'यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुपर्यो ।'  मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पारे । मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भने, 'तपाईंहरु नआत्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।' त्यस अवसरमा उनले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए ।    उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।   समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारी तथा चुनौतीलाई अवसरमा बदल्नेगरी समाजको हितमा प्रयोग गर्न आग्रह गरे ।  

स्वास्थ्य बीमा बोर्डले भन्यो : अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित अनावश्यक स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।  बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको हो । । बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ ।  साथै, उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गर्दै वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको छ । यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको विषयमा बोर्ड जानकार रहेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी फछ्र्योट भइसकेको बोर्डले जनाएको छ । बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि जनाएको छ । यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ ।   

बिपी कोइराला अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह

काठमाडौं । सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।      अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन् ।