भारत र नेपालबीचको डिजिटल भुक्तानी थप सहज बनाउँदै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत–नेपालबीच रियल टाइम पर्सन–टु–पर्सन (पी–टु–पी) भुक्तानी सेवा सुरु गरेको छ ।

बैंकका अनुसार नयाँ सेवामार्फत दुई देशबीच सुरक्षित, तत्काल र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ ।

यस सेवामा भारत र नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) र युपिआई आईडी प्रयोग गरेर रकम आदानप्रदान गर्न सक्नेछन् । नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युपिआई आईडी प्रयोग गरेर भारत–नेपालबीच रकम पठाउन र प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यो सेवाले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र सहज बनाउनेछ । साथै विद्यार्थी, पेशाकर्मी, यात्रु तथा भारत–नेपालबीच नियमित आर्थिक कारोबार गर्ने परिवारका लागि परम्परागत रेमिट्यान्स प्रणालीको आधुनिक विकल्प बन्ने अपेक्षा गरिएको छ ।

सानिमा बैंकले हाल देशभरका सातै प्रदेशमा रहेका १३४ शाखा र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सुरक्षित र नवीन डिजिटल बैंकिङ समाधान विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

Share News