साउनदेखि काठमाडौंमा चल्नेछन् ८ ब्लूबस, महिलालाई निःशुल्क

खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा साउन १ गतेदेखि ‘ब्लु बस’ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा साझा यातायातका ८ वटा बसलाई ब्लु बसमा रुपान्तरण गरेर काठमाडौंका विभिन्न रुटहरूमा महिला लक्षित विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । 

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुपेन्द्र अर्यालका अनुसार यी बसहरू सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने गरी बजेट विनियोजन भइसकेको छ ।

रुट र सञ्चालन खर्च साझाले कुल ८ वटा बसमध्ये ४ वटा चक्रपथ अर्थात् रिङ रोडमा र बाँकी ४ वटा क्रस-रुटहरूमा सञ्चालन गर्ने योजना बनाएको छ । जसमा लगनखेल-बुढानीलकण्ठ रुटमा दुई र एयरपोर्ट-नागढुंगा रुटमा दुई वटा बस सञ्चालन गरिने बताइएको छ ।

अर्यालका अनुसार एउटा विद्युतीय बस सञ्चालन गर्न दैनिक १० देखि १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जुन इन्धनबाट चल्ने बसको तुलनामा कम हो । इन्धन बसको खर्च दैनिक १५ देखि १६ हजार रुपैयाँसम्म हुने गर्दछ । 

हालका लागि विद्युतीय बसलाई नै प्राथमिकता दिइएको उनले बताए । बस सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट विनियोजन भई स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुनासाथ नेपाल सरकार र साझा यातायातबीच समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

अर्यालका अनुसार साउन महिनाभित्रै यी बसहरू सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ । आधिकारिक पत्र प्राप्त भएपछि बसको कलरिङ, रुट पर्मिट र प्राविधिक तयारीका लागि थप १०/१५ दिन लाग्ने बताइएको छ । निःशुल्क यात्रा र प्रविधि यी बसहरूमा महिलाहरूका लागि निःशुल्क यात्राको व्यवस्था गरिने छ ।

डिजिटल टिकटिङ प्रणालीअनुसार महिला यात्रुहरूलाई शून्य दर को टिकट दिइनेछ, जसले गर्दा कति यात्रुले यात्रा गरे र कुन समयमा चाप बढी हुन्छ भन्ने तथ्याङ्क संकलन गर्न सहज हुनेछ ।

सुरक्षाका लागि साझाका सबै बसमा ड्यास क्याम र क्यामेराहरू जडान गरिसकिएको र ती क्यामेराहरूलाई कन्ट्रोल रुमबाट सिधैं निगरानी गर्न सकिने अर्यालले जानकारी दिए । 

कार्यविधि र जनशक्ति महिला लक्षित भनिए पनि बच्चाबच्ची र महिलासँगै आउने पुरुषका हकमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । यसका लागि छुट्टै कार्यविधि बनाइने अर्यालले बताए । 

उनले भने, महिला मात्रै चढाउने कि अरुलाई पनि समेट्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ, यसलाई कार्यविधिमार्फत औपचारिक रूप दिइनेछ । यसैगरी, यी बसहरू चलाउने चालक र सह-चालकहरूलाई विशेष अभिमुखीकरण  तालिम दिइनेछ । 

साझाले सम्भव भएसम्म महिला चालक र सह-चालकलाई नै प्राथमिकता दिने सोच बनाएको भए पनि पर्याप्त संख्यामा महिला जनशक्ति उपलब्ध नहुँदा केही चुनौती रहेको सिइओ अर्यालको भनाइ छ ।

सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने भनिएको छ । 

शासकीय सुधारको ९७ औं बुँदामा पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । नयाँ बस खरिद गर्दा समय लाग्ने भएकाले सञ्चालन रहेकै बसलाई ब्लु बसको रुपमा चलाउन लागिएको जनाइएको छ ।  यो सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अघि बढाइएको कार्यक्रम हो । 

Share News