काठमाडौं । भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ ।
नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ ।
ई–स्पोर्ट्स प्रतियोगितामा खेलाडीको सीप र निर्णय क्षमतासँगै इन्टरनेटको स्थिरता, निरन्तरता र न्यून विलम्बता पनि महत्वपूर्ण हुन्छ । खेलका क्रममा केही क्षणको कनेक्टिभिटी अवरोधले समेत खेलको नतिजामा प्रभाव पार्न सक्ने भएकाले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भरपर्दो इन्टरनेट आवश्यक मानिन्छ ।
भायानेटका अनुसार पीएमजीओजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्टरनेट साझेदारका रूपमा छनोट हुनु कम्पनीको नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाण हो ।
भायानेटले यसअघि पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो । उक्त प्रतियोगितामा कम्पनीले स्थिर र न्यून विलम्बतायुक्त इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराएको जनाएको छ ।
भायानेटले पीएमजीओसँगको साझेदारीमार्फत अन्तर्राष्ट्रियस्तरका ई–स्पोर्ट्स प्रतियोगिता सञ्चालनका लागि आवश्यक नेटवर्क पूर्वाधार उपलब्ध गराउनुका साथै गेमिङ तथा ई–स्पोर्ट्स क्षेत्रमा आफ्नो संलग्नतालाई थप विस्तार गर्ने जनाएको छ ।
नेपालमा ठूला अन्तर्राष्ट्रिय गेमिङ प्रतियोगिता आयोजना हुने क्रम बढ्दै जाँदा यस्ता आयोजनाका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माणमा आफ्नो योगदानलाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।