मानिसको अनुहार केवल भावना र अभिव्यक्तिको ऐना मात्र होइन, अब यो उसको समग्र स्वास्थ्य, शरीरभित्र गुपचुप हुर्किरहेका जटिल रोग र बाँकी जीवनको मापन गर्ने बलियो आधार पनि बन्दै गएको छ ।
अमेरिकाका अनुसन्धानकर्ताहरूले विकास गरिरहेको एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणले यो सम्भावनालाई यथार्थको नजिक पुर्याइदिएको छ । बिरामीको अनुहारको एउटा मात्र सामान्य तस्बिर हेरेर उक्त व्यक्ति कति गम्भीर बिरामी छ र उनीहरूसँग कति जीवन बाँकी छ भन्ने अनुमान लगाउन यो प्रविधि सक्षम देखिएको छ ।
वैज्ञानिकहरूका अनुसार, यो उपकरणलाई लाखौं स्वस्थ अनुहारहरू र क्यान्सरका बिरामीहरूको ३५ हजारभन्दा बढी तस्विरहरूमा ट्रेन्ड गरिएको छ । यसले आँखा वरिपरिका भागहरूलाई सूक्ष्म रूपमा अध्ययन गरेर बिरामी कति समयसम्म बाँच्न सक्छन् भन्ने अनुमान लगाउन सक्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार अस्पतालहरूमा प्रयोगको योग्य बन्न यसलाई अझै लामो समय लाग्नेछ, तर यसको मुख्य उद्देश्य भनेको चिकित्सकहरूले आफ्ना बिरामीहरूका लागि सही उपचार छनोट गर्न सकून् भन्ने हो ।
यो एआई उपकरणको नाम फेससर्भाइभल’ हो । यस उपकरणका अनुसार, कसैको जीवन कति बाँकी छ भन्ने अनुमान लगाउन अनुहारको सबैभन्दा महत्त्वपूर्ण भाग आँखा मुनिको क्षेत्र र दुई आँखाको बीचमा रहेको नाकको माथिल्लो भाग हो ।
कुनै बिरामी कति समयसम्म जीवित रहने सम्भावना छ भन्ने अनुमान गर्दा यो उपकरणले अनुहारका तिनै भागहरूलाई सबैभन्दा बढी प्राथमिकता दिन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, मापदण्डहरु क्यान्सरका विभिन्न प्रकारहरूमा, चाहे ती सामान्य हुन् वा गम्भीर, सही साबित हुन्छन् । यसमा ती मामिलाहरू पनि समावेश थिए जसमा क्यान्सर बिरामीको हाड वा दिमागसम्म फैलिसकेको थियो ।
यो उपकरण तयार गर्नका लागि जति पनि क्यान्सर बिरामीहरूको तस्बिरहरू प्रयोग गरिएको थियो, तीमध्ये अधिकांश बिरामीहरू अमेरिका र नेदरल्याण्ड्सका थिए । उनीहरूको उमेर ५० देखि ७० वर्षको बीचमा थियाे । तर, केही बिरामीहरू बालबालिका थिए भने केही ९० वर्षभन्दा बढी उमेरका पनि थिए ।
यद्यपि, चिकित्सकहरूले बिरामी कति गम्भीर बिरामी छन् र आगामी दिनमा उनीहरूको अवस्था कस्तो रहन सक्छ भन्ने पत्ता लगाउन पहिले नै बिरामीहरूको जाँच गर्छन् र विभिन्न किसिमका परीक्षणहरू गराउँछन् ।
बोस्टनस्थित मास जनरल ब्रिघम अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. रेमंड म्याकले बताएका छन्,
‘मानिसहरूको उमेर बढ्दै जाँदा, चिकित्सकहरूलाई रेडिएसन, शल्यक्रिया (सर्जरी) वा सिस्टेमिक थेरापीजस्ता उपचारहरूमा उचित सल्लाहको आवश्यकता पर्छ, उनले भनेका छन्, ‘यसले बिरामीको शरीरमा कति शक्ति बाँकी छ र उनीहरू कति कमजोर छन् भन्ने कुराको आकलन गर्न चिकित्सकहरूलाई मद्दत गर्छ ।
हाम्रो मुख्य उद्देश्य अनुहारको तस्विरबाट स्वास्थ्यको आकलनलाई अझ बढी सटीक, एकरूप र ठूलो परिमाणमा सम्भव बनाउनु हो, ताकि यसले प्रत्येक बिरामीको आवश्यकताअनुसार उपचार निर्धारण गर्न मद्दत गर्न सकोस्, न कि चिकित्सकको निर्णयको स्थान लिन सकोस् ।
म्याक र उनका सहकर्मीहरू अर्को एक एआई उपकरणको पनि परीक्षण गरिरहेका छन्, जसले कसैको जैविकउमेरको अनुमान लगाउँछ । अर्थात्, जन्म मितिको आधारमा उनीहरूको उमेर कति छ भन्ने होइन, बल्कि उनीहरू कति बुढो देखिन्छन् भन्ने कुरा थाहा दिन्छ ।
यस उपकरणको नाम ‘फेसएज’ हो । यसका अनुसार, नाकको तल र मुखको वरपरको छालाले कुनै व्यक्तिको उमेर कति तीब्र गतिमा बढिरहेको छ भन्ने कुराको राम्रो संकेत दिन सक्छ ।
यसमा नाकदेखि ओँठका कुनाहरूसम्म देखिने रेखाहरू र मुखका कुनाहरूबाट च्यिुडुतर्फ जाने रेखाहरू समावेश छन् । यस बाहेक, निधारका रेखाहरु, आँखाका कुनाका चाउरीहरू, र गालाले पनि उमेर बढ्ने गतिबारे बताउन सक्छन् ।
केही बानीहरूले उमेर बढ्ने यो प्रक्रियालाई तीव्र पार्न सक्छन् । यसमा अत्यधिक मदिरा सेवन, लागुऔषधको प्रयोग र धुम्रपान समावेश छन् । डाक्टर म्याकका अनुसार सामान्य जीवनमा खिचिएका विभिन्न प्रकारका तस्बिरहरूमा पनि यस उपकरणका नतिजाहरू ‘आश्चर्य जनक रूपमा एकै किसिमका’ रहेका छन् ।
तस्बिर खिच्ने तरिका, प्रकाश, अनुहारको भाव र मेकअप फरक भए पनि यसका नतिजाहरूमा धेरै परिवर्तन आएको छैन ।
जुन प्लास्टिक सर्जरी प्रक्रियाहरूमा यसको परीक्षण गरियो, तीमध्ये अधिकांशको पछि पनि नतिजाहरू लगभग स्थिर नै रहे । केवल नाकको शल्यक्रिया अर्थात् राइनोप्लास्टी पछि भने नतिजाहरूमा केही सामान्य परिवर्तन देखिएको थियो ।
यति हुँदाहुँदै पनि अनुसन्धानकर्ताहरूले यी उपकरणहरूको कार्यप्रणालीको सही मूल्याङ्कन गर्नका लागि अझै धेरै डेटा र अनुहारका तस्विरहरूको आवश्यकता पर्ने कुरामा जोड दिएका छन् । विशेष गरी विभिन्न जातिय समूहका मानिसहरूको अझ बढी तस्विरहरूको आवश्यकता रहेको अनुसन्धानले देखाएको छ ।
दुवै उपकरणहरू अहिलेसम्म पूर्ण रूपमा तयार भइसकेका छैनन् र तिनीहरूलाई विकास गर्ने काम जारी छ अनुसन्धान गर्ने टोलीले आम मानिसहरूलाई पनि यस अध्ययनमा सहभागी हुन आमन्त्रित गरिरहेको छ ।
मानिसहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो अनुहारको तस्बिर पठाएर आफ्नो जैविक उमेरको व्यक्तिगत अनुमान प्राप्त गर्न सक्छन् ।
बेलायतको युनिभर्सिटी अफ सरेका भिडियो प्रशोधन र मेसिन लर्निङका विज्ञ प्राध्यापक मिरोस्लाव बोबर भन्छन् कि यो उपकरणले समयसँगै उमेर बढ्ने वा जीवनशैलीमा हुने परिवर्तनहरूको निगरानी गर्न सक्छ भनी दाबी गर्नु अहिले नै हतार हुनेछ । उनी भन्छन्, ‘शुरुआती चरणमा यो आशा जगाउने प्रयोग हो, तर अस्पतालहरूमा प्रयोगका लागि यो अहिले नै तयार छैन ।’
अहिले यस उपकरणको नतिजालाई चिकित्सकहरूको आफ्नै मूल्याङ्कनसँग तुलना गर्नुपर्ने अनुसन्धानकर्ताहरूले भनेका छन् । यसलाई विभिन्न अस्पतालहरू र बिरामीहरूको भिन्न भिन्न समूहहरूमा पनि परीक्षण गर्नुपर्ने उनीहरुको धारणा छ । - बिबिसीबाट अनुवादित