७ विश्वविद्यालयले पाए नयाँ नेतृत्व, खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त

काठमाडौं । देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारहरूलाई शुक्रबार उपकुलपतिको जिम्मेवारी दिइएको हो । नियुक्ति हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन् । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसका आधारमा कुलपतिबाट नियुक्ति गरिएको जनाइएको छ । नयाँ उपकुलपतिहरूको नियुक्तिसँगै विश्वविद्यालयहरूमा शैक्षिक सुधार, अनुसन्धानको प्रवर्द्धन, सुशासन र गुणस्तरीय उच्च शिक्षाको अपेक्षा गरिएको छ ।  विश्वविद्यालय प्रशासनलाई प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको बताइएको छ ।

दुई महिनाभित्र सञ्चालनमा आउँदै ६ अर्बको जालपादेवी केबलकार

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-७ राजकाँडामा निर्माणाधीन जालपादेवी केबलकार आयोजना अन्तिम चरणमा पुगेको छ । आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको करिब ६ अर्ब रुपैयाँको यो महत्त्वाकांक्षी परियोजना आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ । शुक्रबार नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूजा-अर्चनामा सहभागी हुँदै आयोजना निर्धारित समयमै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।  हाल केबलकारका टप र बटम स्टेशनका भौतिक संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन् । पोल ठड्याउने, स्टेशन निर्माणलगायतका पूर्वाधार अन्तिम चरणमा पुगेका छन् भने अब मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोला जडान गर्ने काम सुरु हुने कम्पनीले जनाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकारमार्ग निर्माण भइरहेको छ ।  आयोजनाको बटम स्टेशनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हलसहितका आधुनिक संरचना निर्माण भइरहेका छन् भने टप स्टेशनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग, रेष्टुरेन्ट तथा बाल उद्यान विकास गरिँदैछ । नेपालकै लामो कर्णाली नदी र ऐतिहासिक चिसापानी पुलको मनोरम दृश्यसँग जोडिएको यो आयोजना सुदूरपश्चिम प्रदेशको पर्यटन र आर्थिक विकासको नयाँ आधार बन्ने अपेक्षा गरिएको छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार तथा सेवा क्षेत्रमा प्रत्यक्ष लाभ पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ । मूर्तिको पदस्थापना कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले समय, लागत र गुणस्तरमा आयोजना सम्पन्न गर्न सक्ने क्षमता प्रमाणित गर्दै आएको उल्लेख गरे ।   उनले धार्मिक पर्यटनसँगै आधुनिक पर्यटन पूर्वाधार विस्तारमार्फत नेपालको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे ।  ‘करिब १२ महिनाअघि सुरु गरिएको यो आयोजना निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौं । धार्मिक आस्थासँग पर्यटनलाई जोडेर देशभर यस्ता ठूला परियोजना निर्माण गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,’ उनले भने ।  भारतसँगको सहज पहुँचका कारण यो आयोजना अन्तरदेशीय पर्यटनका लागि पनि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहा नाकाबाट छोटो सडक यात्रामै पुग्न सकिने भएकाले उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, लखनऊ, बरेली तथा देहरादुनलगायत भारतीय सहरबाट आउने पर्यटकलाई लक्षित गन्तव्यका रूपमा विकास गरिँदैछ । स्थानीयवासीका अनुसार तराईको अत्यधिक गर्मीबाट राहत खोज्ने आन्तरिक तथा भारतीय पर्यटकका लागि राजकाँडा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने सम्भावना रहेको छ ।  धार्मिक, प्राकृतिक र साहसिक पर्यटनलाई एउटै गन्तव्यमा समेट्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन नक्सामा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।

महालक्ष्मी विकास बैंकले पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ । बैंकले विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्षहरूको स्मृतिमा स्थापना गरिएका छात्रवृत्तिमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको जनाएको छ । बैंकका अनुसार स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरी, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह र सीताराम प्रसाईंको स्मृतिमा स्थापना गरिएका छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो । छात्रवृत्तिअन्तर्गत काठमाडौं, पर्सा, कैलाली, मकवानपुर र झापाका सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई सम्बन्धित बैंकका पदाधिकारीमार्फत छात्रवृत्ति हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले यस्तो कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन नरोकिने वातावरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब आठ लाखभन्दा बढी ग्राहक रहेका छन् ।