स्वास्थ्य मन्त्री मेहताले गरिन् भारदह अस्पतालको निरीक्षण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गगरेकी छन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन् ।  मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स-रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन दिइन् ।  बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् ।  निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन

काठमाडौं । नेपाल प्रेस युनियनको १०औं संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।  नेपाल प्रेस युनियन केन्द्रीय समितिको २०८३ साउन ३१ गते बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ ।  युनियनको विधान-२०४८ (सातौं संशोधन २०८३) को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन समितिको सदस्यमा अधिवक्ताहरू बाबुराम अर्याल, राजकुमार उप्रेती, प्रदीप सत्याल तथा पत्रकार बिमला तुम्खेवा रहेका छन् । बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन गठित समितिलाई विधानअनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ ।  महाधिवेशन तयारीका लागि शाखाहरुको अधिवेशन सुरु गर्ने निर्णय यस अघि नै गरेको छ ।

इमाडोलमा भायानेटको नयाँ सुविधासम्पन्न शाखा सञ्चालनमा

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा नयाँ तथा सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको बढ्दो संख्या र सेवा आवश्यकतालाई ध्यानमा राख्दै भायानेटले इमाडोलस्थित रातोमकै चोकमा नयाँ शाखा विस्तार गरेको हो ।  कम्पनीका अनुसार शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । नयाँ शाखाबाट ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सहायता सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीयस्तरमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसअघि इमाडोल तथा आसपासका क्षेत्रमा सेवा दिँदै आएको भायानेटले ग्राहकको सेवा पहुँचलाई थप सहज र प्रभावकारी बनाउन शाखा विस्तार गरेको जनाएको छ ।  नयाँ शाखाबाटै प्राविधिक टोली परिचालन हुने भएकाले इन्टरनेटसम्बन्धी समस्या समाधान तथा फाइबर मर्मतसम्भारमा लाग्ने समयसमेत घट्ने कम्पनीको अपेक्षा छ । भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले इमाडोलवासीसँग लामो समयदेखि जोडिँदै आएको भायानेटले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर शाखा विस्तार गरेको बताए । उनका अनुसार नयाँ शाखाबाट फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले ग्राहकले पहिलेभन्दा छिटो र सहज सेवा पाउनेछन् ।  शाखा विस्तारले इमाडोल क्षेत्रका ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको उनको भनाइ छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै उच्च गतिको भरपर्दो इन्टरनेट दैनिक जीवनको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ । शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनलगायत क्षेत्रमा इन्टरनेटको निर्भरता बढिरहेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै ग्राहकलाई निर्बाध तथा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्यसहित शाखा विस्तार गरिएको भायानेटले जनाएको छ । कम्पनीका अनुसार नयाँ शाखाले इमाडोल तथा आसपासका क्षेत्रमा ग्राहक सेवाको पहुँच थप बलियो बनाउनुका साथै ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्नेछ।