प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन

काठमाडौं । नेपाल प्रेस युनियनको १०औं संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल प्रेस युनियन केन्द्रीय समितिको २०८३ साउन ३१ गते बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ । 

युनियनको विधान-२०४८ (सातौं संशोधन २०८३) को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिको सदस्यमा अधिवक्ताहरू बाबुराम अर्याल, राजकुमार उप्रेती, प्रदीप सत्याल तथा पत्रकार बिमला तुम्खेवा रहेका छन् ।

बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन गठित समितिलाई विधानअनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ । 

महाधिवेशन तयारीका लागि शाखाहरुको अधिवेशन सुरु गर्ने निर्णय यस अघि नै गरेको छ ।

Share News