काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १ गते) सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार सम्बन्धित उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेताहरूबाटै हुने जनाएको छ ।
निगमले आइतबार एक सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न अपिल गरेको हो ।
ग्यास वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले पाँचबुँदे निर्देशन समेत जारी गरेको छ । जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेताको विवरण, ठेगाना र सिलिण्डर संख्या बिहान ९ बजेभित्र निगमलाई बुझाउनुपर्नेछ भने बिक्रेताहरूले पनि बिक्री भएको परिमाण र उपभोक्ताको विवरण दैनिक रूपमा उद्योग र निगमलाई उपलब्ध गराउनुपर्नेछ ।
निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ । ढुवानी र वितरणमा सुरक्षा सहजीकरणका लागि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमको संयुक्त टोलीले बजार अनुगमन गर्नेछ ।
यदि नजिकैको बिक्रेताबाट ग्यास नपाएमा तत्काल अति आवश्यक परेका उपभोक्ताका लागि निगमको क्विक रेस्पोन्स टिमका मोबाइल नम्बरहरू ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
