किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ

काठमाडौं । वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो । यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार आज उनको हिरासत र पक्राउको कानुनी आधारबारे अदालतमा सुनुवाइ हुने भएको हो । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनकी पत्नी सरस्वतीले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल अदालतमा उपस्थित गराई थुनामुक्त गर्न माग गरिएको छ । आजको सुनुवाइबाट श्रेष्ठको हिरासतलाई निरन्तरता दिने वा थुनामुक्त गर्नेबारे अदालतबाट आदेश आउन सक्नेछ । श्रेष्ठको पक्राउ र त्यसपछि दायर भएको बन्दी प्रत्यक्षीकरण निवेदनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कोणबाट समेत चासोका साथ हेरिएको छ । 

देशभर नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ । नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको छ । धार्मिक विश्वासअनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषिप्रधान मुलुकमा यस पर्वको विशेष महत्व रहिआएको छ । आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्निभय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ ।   

विदेशमा सिकेको सीप स्वदेशमै लगानी गरौँः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।  नेपाल-कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको बताए । हजारौं नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेको उनले औंल्याए ।  कोरियाले ६० वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्य संस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार-निजी क्षेत्रबीचको समन्वय जस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उनको भनाइ छ । रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उनले बताए ।  जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि लगायत साना-मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत-चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको बताए । लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्ने आवश्यकता उनले औंल्याए ।  देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने बताए ।  रिटर्नी उद्यमी-व्यवसायीसँग रहेको प्रविधिक सीप, कार्य संस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रलाई सबैभन्दा बढी आवश्यक रहेको बताउँदै स्वदेशमा उद्यम स्थापनाका क्रममा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको नियमित संवादबाट हटाउन सकिने उनको भनाइ छ ।  अन्त्यमा उनले रिटर्नी उद्यमीहरूको लगानी र सीपले स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय लेख्ने कामना गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट सधैं साथ रहने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, दूतावासका कर्मचारीहरू, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्ट लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।