काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरी सडकमार्ग प्रभावित बनेपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको नियमित आपूर्तिमा गम्भीर असर परेको छ ।
ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले तत्कालका लागि होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा अन्य व्यावसायिक प्रयोजनमा ग्यास बिक्री वितरण रोक्ने निर्णय गरेको छ ।
बुधबार निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबीच भएको बैठकले सीमित ग्यासलाई घरायसी र अत्यावश्यक उपभोक्ताका लागि सुरक्षित राख्दै आपूर्ति व्यवस्थापनको नयाँ रणनीति तय गरेको हो ।
निगमको नयाँ निर्णयअनुसार अब व्यावसायिक उपभोक्ताले आफ्नै खर्चमा ग्यासको व्यवस्था गर्नुपर्नेछ। । होटल तथा अन्य ठूला व्यवसायीले आफूले प्रयोग गर्ने ब्रान्डका खाली सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी तराईका ग्यास उद्योगसम्म पुर्याउनुपर्नेछ र त्यहाँ रिफिल गराएर वैकल्पिक सडकमार्ग हुँदै काठमाडौं ल्याउने सम्पूर्ण जिम्मेवारी व्यवसायी स्वयंले लिनुपर्नेछ ।
यता, काठमाडौंका सर्वसाधारणका लागि उपत्यकाका ग्यास उद्योगहरूले तराईका उद्योगहरूसँग समन्वय गरी सिलिन्डर भरेर ल्याउने र विक्रेतामार्फत समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले तराईबाट ग्यास ल्याएर उपत्यकाको आपूर्ति कायम राख्ने प्रयास भइरहेको र तराईबाट आएको ग्यास अत्यावश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गरिने जानकारी दिएका छन् ।
भित्र्याइएको सीमित ग्यासलाई मुख्यगरी विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका राहत केन्द्रहरूलाई प्राथमिकताका साथ उपलब्ध गराइनेछ ।
यस संकटको समयमा बजारमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव र बढी मूल्य असुली नियन्त्रण गर्न निगमले बजार अनुगमनलाई कडा बनाउने भएको छ। यसका लागि निगमको क्विक रेस्पोन्स टिममा ग्यास विक्रेताका दुई जना प्रतिनिधि सहभागी गराई संयुक्त अनुगमन गरिनेछ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागका निर्देशक विनितमणि उपाध्याय, उपनिर्देशक इन्दु शर्मा अधिकारी, ग्यास विक्रेता महासंघका कार्यवाहक उपाध्यक्ष विष्णुप्रसाद दुलाल र काठमाडौं अध्यक्ष हेमबहादुर थापालगायतको उपस्थिति रहेको उक्त बैठकले सडकमार्ग सहज नहुँदासम्म वैकल्पिक उपायबाटै आपूर्ति व्यवस्थापन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।