११ जनाले तिरेनन् नगरपालिकाको ऋण, ३५ दिने अल्टिमेटम
काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । महिला स्वरोजगार कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण ऋणमा अटो प्राप्त गरे पनि ११ जनाले रकम चुक्ता नगरेपछि ऋण तिर्न नगरपालिकाले ताकेता गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा वितरण गरिएको सहुलियतपूर्ण ऋण सम्झौताअनुसार पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि लाभग्राहीहरूले रकम नतिरेपछि सार्वजनिक सूचना जारी गरेको जनाएको छ । लाभग्राहीहरूले ३५ दिनभित्र नगरपालिकामा सम्पर्क गरी बाँकी ऋण रकम बुझाउनुपर्नेछ । अन्यथा ऋण सम्झौता तथा प्रचलित कानुनबमोजिम असुलउपर, कानुनी कारबाही र अन्य आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले चेतावनी दिएको छ । सार्वजनिक गरिएको सूचीमा वीरेन्द्रनगरका विभिन्न वडाका ११ जना लाभग्राही रहेका छन् । उनीहरूले फिर्ता गर्न बाँकी रकम १८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रहेको उल्लेख गरिएको छ । नगरपालिकाका अनुसार मञ्जु सुनार, निर्मला सेढाई, सिता बिक, यामकुमारी सार्कीले समान १ लाख रुपैयाँ १ लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ । यस्तै, कौशिला नेपालीले ६९ हजार ८१६ रुपैयाँ, शुष्मिता बिकले ६५ हजार ८७९ रुपैयाँ, सिर्जना गुरुङले ३८ हजार ५३२ रुपैयाँ, सबिना पुनले ५५ हजार १७८ रुपैयाँ, कल्पना सिंहले ६७ हजार ६४३ रुपैयाँ, यसुदा सापकोटाले ८१ हजार ७४८ रुपैयाँ र धनकुमारी सिजापतीले १८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरले महेन्द्र भवन विद्यालयलाई नमूना विद्यालय बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौं महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबीच सम्झौता भएको हो । सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे । सम्झौतामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, मानव स्रोत सुदृढीकरण तथा दीर्घकालीन गुरुयोजनामार्फत विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ‘नमूना विद्यालय’ बनाउने उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महेन्द्र भवन र महानगरबीच भएको सहकार्य विद्यालयको शैक्षिक पुनर्जीवनको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरिन् । विगतमा उत्कृष्ट शैक्षिक पहिचान बनाएको महेन्द्र भवनलाई पुनः उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने जिम्मेवारी महानगर र गुठी दुवैको रहेको उनको भनाइ छ । उनले महेन्द्र भवनलाई ‘सेन्टर अफ एजुकेसन एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताइन् । विद्यालयलाई पुनः उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘महेन्द्र भवन माध्यमिक विद्यालय, काठमाडौं र महानगरबीचको यो सम्झौता विद्यालयका लागि टर्निङ प्वाइन्टका रूपमा होस् । यो अब उकालो चढ्ने टर्निङ प्वाइन्ट हुनुपर्छ । महेन्द्र भवन विद्यालय पहिले धेरै राम्रो थियो । सबैलाई त्यो विद्यालयमा पढ्न मन लाग्थ्यो । त्यो विद्यालयले छुट्टै पहिचान बोकेको थियो । हाल विद्यालय केही ‘डाउनफल’ मा गएको भन्ने छ ।’ सम्झौताअनुसार अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राखिनेछ, जसका लागि आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाइने सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा विद्यालय सञ्चालनका लागि निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको छ । समितिको संयोजक काठमाडौं महानगरपालिकाका उपप्रमुख रहनेछन् भने गुठीका अध्यक्ष सह–संयोजक हुनेछन् । सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, महानगरको शिक्षा विषयगत समितिका संयोजक तथा शिक्षा विभाग प्रमुख समितिमा रहने व्यवस्था गरिएको छ । यस्तै, हाल कायम नौ सदस्यीय शैक्षिक गुठीमा महानगरबाट आठ सदस्य थप गरी १७ सदस्यीय बनाइने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार विद्यालयको पूर्वाधार मर्मत, पुनर्निर्माण तथा विस्तारका लागि गुरुयोजना तयार गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको छ । विद्यालय परिसरमा विशेष विद्यालय, खेलकुद एकेडेमी तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । विद्यालयको नाम कुनै सहयोग वा साझेदारीका कारण परिवर्तन गर्न नपाइने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ । महेन्द्र भवन माध्यमिक आवासीय विद्यालय वि.सं. २०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा स्थापना भएको थियो । पछिल्लो एक दशकदेखि विद्यार्थी सङ्ख्या घट्दै जाँदा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा चुनौती देखिएको थियो । महानगर र गुठीबीचको सहकार्यले विद्यालयको भौतिक तथा शैक्षिक पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ ।
६ रोपनीमा ८ तले प्रशासनिक भवन बनाउँदै महानगर, ९४ दिनमै ३५ प्रतिशत प्रगति
काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न भएको छ । टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको ९४ दिनमै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति हासिल भएको भवन निर्माण परियोजनाका परियोजना निर्देशक महेश भट्टले जानकारी दिए । उनका अनुसार गत चैत २२ गतेदेखि निर्माण सुरु गरिएको भवनको बेसमेन्ट निर्माण सम्पन्न भइसकेको छ । अहिले बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको छ । भट्टले संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाइएकाले तोकिएको समयभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । निर्माण कम्पनीसँग २०८४ कात्तिक २२ गतेभित्र भवन निर्माण सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको उनले जानकारी दिए । हाल निर्माणस्थलमा ७० जना कामदार परिचालन गरिएको छ । साथै परियोजना प्रबन्धक, साइट सुपरभाइजर लगायत १० जना प्राविधिक जनशक्ति खटिएको उनले बताए । निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सुरक्षा प्रोटोकल पालना गर्दै काम भइरहेको उनको भनाइ छ । करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा ८ तले प्रशासनिक भवन निर्माण भइरहेको छ। निर्माणाधीन भवनको बुधबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उनले निर्माण कम्पनीलाई निर्धारित समयमै भवन निर्माण सम्पन्न गर्न निर्देशन दिएकी छन् ।