मेलम्ची खानेपानी अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई पहल गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउनका लागि हेलम्बु गाउँपालिकालाई तत्काल पहल गर्न आग्रह गरेका छन् । विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग गर्दै आयोजनाका प्रभावितहरूले मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा अवरोध उत्पन्न भएको छ । सोही अवस्थाको समाधानका लागि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग छलफल गर्दै समस्या समाधानका लागि आवश्यक सहयोग र पहल गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले समेत सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी थिइन् । हाल खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी छन् । मन्त्री घिसिङले सरकार विगतका सहमति र अहिलेका माग वार्ता तथा छलफलबाट समाधान गर्न तयार रहेको जनाउँदै मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा गम्भीर समस्या देखिएकोले यसमा स्थानीय तहले गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले समस्या समाधान गरी जतिसक्दो छिटो काठमाडौंमा खानेपानी ल्याउन सरकार सक्रिय रहेको बताए । हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा भएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयोजनाले लिएका जग्गा तथा घरभाडा, सिएमसी कम्पनीका आपूर्तिकर्तालाई पाउँनुपर्ने रकम भुक्तानी, मेलम्ची बजारदेखि घ्याङसम्मको सडक निर्माण र सुन्दरीजलमा पुग्ने पानीको बिक्री आम्दानीको २५ प्रतिशत हेलम्बु विकासका लागि विनियोजन गर्नुपर्ने माग पुनः दोहोर्याए । उक्त विषयमा तत्कालीन खानेपानीमन्त्रीको उपस्थितिमा २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र स्थानीय राजनीतिक दलबीच सहमति भएको थियो ।  

काठमाडौं महानगरमा फोहोर वस्तु बालेमा १० हजार जरिवाना लाग्ने

काठमाडौं । काठमाडौंं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो ।  जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने वस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’  वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ ।  ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा वस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राईले भनिन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’  यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।  

जलेकै भवनबाट सेवा दिँदै मधेशका पालिकाहरू

काठमाडौं । गत भदौको जेनजी प्रदर्शनका क्रममा देशभरका १५३ भन्दा बढी नगरपालिकाहरूमा क्षति पुग्यो । प्रदर्शनका क्रममा सबैभन्दा धेरै क्षति भने मधेश प्रदेशका पालिकाहरूले बेहोनुपर्‍यो । पालिका भवनहरूमा क्षति पुगेपछि पालिकाबाट प्रवाह हुने सेवा प्रभावित हुन पुग्यो जसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा पर्‍यो । कागजपत्रसमेत नष्ट हुँदा सेवा प्रवाहमा अझ बढी समस्या भएको छ । क्षति पुगेका पालिकाहरूले अहिले भवनको पुनःममर्त गरेका छन् भने केही गर्ने तयारीमा रहेको पालिकाहरूले जनाएका छन्। जेनजी आन्दोनको क्रममा क्षति पुगेका अधिकांश पालिकाहरूले अहिले सेवा दिन सुरु गरिसकेका छन् । वीरगञ्ज महानगरपालिकाले जलेकै भवनबाट अहिले नगरबासीलाई सेवा दिन थालेको महानगरका सूचना अधिकारी सुनिलकुमार कर्णले जानकारी दिए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गर्नुका साथै तोडफोड गरिएको थियो । आगनजी, तोडफोड हुँदा कागपत्र नष्ट भएको उनले बताए ।  ‘अहिले क्षति नपुगेको शाखाबाट कर्मचारीहरूले जनतालाई सेवा दिइरहेका छौं, कर्णले भने, ‘कागपत्र सबै जलेर नष्ट भयो, तर हामीले जनताको सेवा दिन हरसम्भव प्रयास गरिरहेका छौं,’ केही कागपत्र अनलाइनमा सुरक्षित भएकाले अलि सहज भएको छ, वडाबाट सिफारिस लिएर पनि जनताले यहाँबाट सेवा पाइरहनुभएको छ ।’ जनकपुरधाम नगरपालिकाका प्रमुख मनोज कुमार शाहका अनुसार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भवन अहिले पुनःमर्मत र सरसफाइ भइरहेको छ।  उनले अहिले नजलेको शाखाबाट सेवाहरु प्रवाह भइरहेको बताए । ‘भवनको तीन भागमध्ये एक भाग जलेर नष्ट भएका थिए,’ उनले भने, ‘प्रशासन शाखा, जिन्सी शाखा, मुद्दा शाखालगायत सबै बाँकी रहेन, अहिले जल्न बाँकी भवनबाटै सेवा दिइरहेका छौं ।’  भवन जलेपनि सेवा प्रवाहमा त्यस्तो समस्या नभएको उनले बताए । जेनजी आन्दोलनको क्रममा गोलबजार नगरपालिका भवन पूर्ण रूपमा क्षति पुग्यो । सवारी साधनमा तोडफोडका साथै आगजनी भयो । साथै कागजपत्र जलेर नष्ट भए । अतिआवश्यक कागपत्र जलेर नष्ट भएको हुँदा अहिले सेवा प्रवाहमा समस्या भएको नगरपालिकाका उपप्रमुख मान्ती शाहले बताइन् ।  उपप्रमखु मान्तीका अनुसार प्रशाकीय भवनबाट सेवा तत्काल सुरु गर्न नसक्ने भएपछि कृषि भवनबाट सेवा दिन थालेको छ । ‘समिति बनाएर वडाको सिफारिसमा हामीले दशैँअघिदेखि नै कृषि भवनबाट जनतलाई सेवा दिन थालिसेका छौं,’ उनले भनिन्, ‘कागजपत्र जलेको हुँदा अलि समस्या छ तर काम भइरहेको छ ।’ लहान नगरपालिकाले जेनजी आन्दोलनपछि तत्कालै नगरसभा हललाई सरसफाई गरेर सेवा दिन थालेको नगपालिकाका सूचना अधिकारी शुशिल कुमार शाहले बताए । उनका अनुसार जेनजी आन्दोलनमा कार्यालय भवनमा तोडफोड, आगजनी र सवारी साधनमा क्षति पुगेको थियो ।  आन्दोलनको केही दिनपछि नगरसभा हलमा सरसफाई गरेर प्लास्टिकको कुसी, जलेर बाँकी रहेको टेबल लगेर सेवा सुचारु गरेको उनको भनाइ छ ।  ‘हामीले नगरसभा हलमा प्लास्टिकको कुर्सी, जलेर बाँकी रहेका टेबल लगेर राख्यौँ र त्यहीँ कर्मचारीहरुले व्यक्तिगत ल्यापटप ल्याएर सेवा दिन थालेका हौं,’ उनले भने। उनका अनुसार अहिले जलेको भवनमा मर्मतसम्भारको कार्य चलिरहेको छ । मर्मतसम्भार सम्पन्न भएपछि सेवा प्रवाह सहज हुने उनले बताए । जेनजी आन्दोलनमा मिर्चैया नगरपालिका कार्यालयमा तोडफोड र आगजनी हुँदा कागपत्र सबै जलेर नष्ट भए । उक्त पालिकाको भवनबाट पनि तत्काल सेवा दिन नसकिएको सूचना अधिकारी गशेश गुप्ताले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले नगरपालिका अस्पतालको सभाहलबाट सेवा दिइरहेको छ ।  ‘हामीले अहिले नगरपालिका अस्पतालको सभा हलमा राउण्ड टेबलमा केही ल्यापटप र प्रिन्टर राखेर काम गरिरहेका छौं, काम गर्न सहज छैन,’ उनले भने, ‘कागजपत्र सबै जलेर नष्ट भएको हुँदा काम ढिला भइहेको छ ।’ कलैया उपमहानगरपालिकाको भवन पनि गत जेनजी आन्दोलनमा तोडफोड भएको थियो । कार्यालयको केही अतिआवश्यक कागपत्रसमेत जलेर नष्ट भएको थियो । अहिले पालिकाले त्यही भवनलाई मर्मत गरेर नगरबासीलाई सेवा दिइरहेको सूचना अधिकारी सुरेशकुमार यादवले बताए । राजविराज नगरपालिका भवन पूर्ण रूपमा क्षति पुगेको छ । कागपत्र कुनै पनि सुरक्षित छैन । नगरपालिकाका सूचना अधिकारी सुरेश कुमार यादवका अनुसार अहिले नगरपालिकाकै मातहतमा रहेको मार्केट सञ्चालन भइरहेको सटरबाट सेवा दिन सुरु गरेको छ ।  ‘नगरपालिकाकै मातहतमा रहेको सटरबाट हामीले केही थान कम्युटर राखेर सेवा सुरु गरेका छौं, नगरपालिकाको सभाहल सुरक्षित रहेकोले त्यहाँबाट पनि सेवा दिइरहेका छौं,’ उनले भने ।  उनका अनुसार अहिले सबै कर्मचारीलाई सानो ठाउँबाट काम गर्नको लागि व्यवस्थापन गर्न समस्या भइरहेको छ । नगरपालिकाले तत्काल जसरी पनि सेवा दिनुपर्ने भएकाले त्यहीअनुसार व्यवस्थापन गरिरहेको उनले बताए । जेनजी आन्दोलनको क्रममा कल्याणपुर नगरपालिकामा भवन ९० प्रतिशत भन्दा बढी क्षति पुगेको थियो । उक्त नगरपालिकाका कार्यवाहक प्रमुख रेखाकुमारी यादवका अनुसार आन्दोलनको ४/५ दिनदेखि नै रामजानकी हलबाट जनतालाई सेवा दिन थालेको बताइन् ।  उनका अनुसार सुरुमा कर्मचारीकै व्यक्तिगत ल्यापटपबाट अतिआवश्यक सेवा दिन थालेको र अहिले थप कम्युटरको व्यवस्था गरेर त्यही हलबाट काम भइरहेको छ । ‘हामीले रामजानकी हलबाट २/३ वटा कुर्सी र २ वटा टेबल राखेर काम सुरु गर्‍याैं,’ उनले भनिन्, ‘एउटै कोठाबाट जनतालाई सेवा दिन सहज छैन, त्यसमाथि हाम्रा सबै कागजपत्र जलेर नष्ट भएका छन्, तैपनि सेवा दिन प्रयास गरिरहेका छौं ।’ धनगढीमाई नगरपालिकामा जेनजी आन्दोलनअघि देखि नै प्रमुख प्रशासकीय अधिकृत विहीन छ । नगरसभा हुन सकेको छैन । त्यहाँका जनप्रतिनिधिले वैशाखदेखि र कर्मचारीले साउनबाट तलब नपाएको सूचना अधिकारी जय प्रकाश ठाकुरले बताए । जेनजी आन्दोलनअघि देखि नै समस्यामा रहेको पालिका जेनजीपछि झन् समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार जेनजी आन्दोलनमा भवनमा ठूलो क्षति पुगेको थियो । हाल महानगरले क्षति नपुगेको शाखाबाट जनतालाई सेवा दिइरहेको उनले बताए । कञ्चनरूप नगरपालिकाले जेनजी आन्दोलनको एक हप्तापछि नै जलेकै भवनबाट सेवा सर गरेको कञ्चनरूप नगरपालिकामा प्रमुख ललनप्रसाद गुप्ताले बताए । उनले वडाहरुबाट आवश्यक केही टेबल कुर्सी र ल्यापटप मागेर काम सुरु गरेको जानकारी दिए । उक्त पालिकामा पनि प्रमुख–उपप्रमुख बीच नै लामो समयदेखि विवाद हुँदै आएको छ । नगरपालिका नगर प्रमुख गुप्ता र उपप्रमुख मुनाकुमारी पोखरेलबीचको आपसी मतभेदकै कारण पालिकाले चालु आव २०८२/८३ को बजेटसमेत ल्याउन सकेका छैन ।  आन्तरिक विवादसँगै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले कार्यालय परिसरमा आगजनी र तोडफोड गरेपछि झनै अन्योलता थपिएको छ । यसको प्रत्यक्ष असर त्यहाँका जनताले खेप्नुपरेको छ । अहिले पनि त्यहाँका जनताले सहज रूपमा सेवा लिन सकेका छैनन् । खडक नगरपालिकाको पनि भवनमा क्षति पुगेको छ भने कागपत्र पूर्ण रूपमा जलेर नष्ट भएको छ । अहिले क्षति पुगेकै भवनलाई मर्मत गरेर काम भइरहेको नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले बताइन् ।  त्यस्तै, बोदेबरासाइन नगरपालिकामा पनि तोडफोड, ढुंगामुढा हुँदा कार्यालमा क्षति पुगेको थियो । उक्त भवनलाई मर्मत गरेर हाल सेवा प्रवाह भइरहेको नगरपालिकाका उपप्रमुख आतेशकुमार सिंहले जानकारी दिए । मधेश प्रदेशमा ७७ पालिका छन् । जसमध्ये ३४ पालिका कार्यालयमा आगजनी, २२ वटा कार्यालयमा तोडफोड भएको छ । २१ वटा पालिकामा भने कुनै क्षति पुगेको छैन । आगजनी भएका पालिकाहरू अधिकांश पूर्ण रूपमा क्षति पुगेका छन् भने कागजपत्र नष्ट भएका छन् । केही पालिकामा आंशिक क्षति र तोडफोड भएको छ ।