दुई सहकारीलाई घर खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थालाई घर खाली गर्न निर्देशन दिएको छ । पुण्यभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कल्याणेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हो । महानगरको कानून तथा मानव अधिकार विभागले न्यायिक समितिबाट भएको निर्णय बमोजिम घरजग्गा खाली गर्न निर्देशन दिएको हो । साथै, उक्त सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यलाई १५ दिनभित्र कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।  तोकिएको समयभित्र सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा, फ्ल्याट न्यायिक समितिको निर्णयानुसार खाली गर्ने चेतावनी दिएको छ । साथै उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति सर सामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने महानगरले जनाएको छ ।  वडा नम्बर ९ मा रहेको पुण्यभूमि बचत तथा ऋण सहकारी विरुद्ध कम्लेस कुमार कुण्डलिया र वडा नम्बर १४ मा रहेको कल्याणेश्वर बचत तथा ऋण सहकारी विरुद्ध दीपक कुरमा फैँजुले महानगरमा उजुरी दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको १ अर्ब ७६ करोडको बजेट पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औं नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।  नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ।  नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवर्द्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटले प्राथमिकता दिएको छ । 

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै  स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।       नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा  महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई अनुरोध गरेका छन् ।    तोकिएको हटलाइनमा बिमारीका फोन नं. प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछन् ।      चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्छन् । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।       महानगरभित्र  करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।