स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि ६९ लाख रुपैयाँ प्रस्तावित बजेट पारित गरिएको छ । सङ्घीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीका लागिमात्रै दिवाखाजा उपलब्ध गराउँदै आएको छ । यस्तै सङ्घीय सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ताका साथै निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्दै आएकामा रोशी गाउँपालिकाले थप ५० प्रतिशत सुविधा उपलब्ध गराएको हो । त्यसैगरी, गाउँपालिकाले नीति तथा कार्यक्रममा तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा र बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य–पानी लेकजस्ता क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न कार्यविधि बनाई समिति गठन गर्दै ती क्षेत्रमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याइने र पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भगिनी सम्बन्ध विस्तार गर्न पहलसमेत गरिने नीति लिइएको छ । अधिवेशनमा आउँदो आबका लागि प्रस्तुत कुल ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ बराबरको आयव्ययको अनुमान (बजेट) पारित गरिसकेको छ । उक्त बजेटमा अन्तरिम मौज्दातसमेत गरी आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख ६५ हजार रुपैयाँ सङ्कलन हुने अनुमानसमेत गरेको छ । यस्तै, राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्वबाट ३ करोड ३० लाख रुपैयाँ, सङ्घीय राजस्वबाट ९ करोड ८६ लाख ८९ हजार रुपैयाँ र प्रदेश राजस्वबाट ४ करोड ५ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय सरकार समानीकरण १० करोड ४३ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदान ३३ करोड २३ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदान ३० लाख रुपैयाँ, सङ्घीय विशेष अनुदान ७६ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण ९१ लाख ५९ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदान १ करोड २७ लाख ९८ हजार रुपैयाँ, प्रदेश सरकारको समपूरक अनुदान २ करोड ४५ लाख रुपैयाँ र प्रदेश विशेष अनुदान ५५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यसैबीच, गाउँपालिकाले बाढीपहिरोबाट पीडित निजी आवास पुनर्निर्माण र प्रबलीकरणलाई थप जोड दिँदै ६० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । विगत तथा हुनसक्ने प्राकृतिक विपद् र बाढीपहिरोले पुर्याएको क्षतिको व्यवस्थापन गर्दै पालिकालाई समृद्ध बनाउने सङ्कल्प गाउँपालिकाले लिएको छ ।
पोखरा महानगरपालिकाको बजेट पारित
कास्की । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ। नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो। महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख, समानिकरण अनुदान रु ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु तीन अर्ब १८ करोड ६० लाख रहेको छ। यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु ६० लाख, विशेष अनुदान रु ४० लाख र समानिकरण अनुदान तर्फ रु आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु नौ करोड १५ लाख ३६ हजार रहेको छ। राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट रु चार करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ। कूल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ रहेको छ। नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदनसहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ। महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गरे ।
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो । महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३/८४ को बजेटले हरियाली प्रबर्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ती मध्येको साउन १ गतेदेखि शुरु हुने चिकित्सक सहितको एम्बुलेन्स,बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो । ’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए । यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहितएम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला वर्षहरुमा कार्यान्वयनमा ल्याएको छ । सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।