३ महिनासम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दा समेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल ७५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३५ वटाले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिको बजेट प्रस्तुत नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । मन्त्रालयका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, छिन्न्मस्ता गाउँपालिका, बलान बिहुल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् । सिराहाको कल्याणपुर, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, हंपसुर नगरपालिका र धनौजी गाउँपालिकाले चालु आवको बजेट सार्वजनिक गरेका छैनन् । महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । बागमती प्रदेशको धादिङको खनियाबास गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उप-महानगरपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा समावेश छ । कर्णाली प्रदेश अन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा कुल ९४.२९ प्रतिशत तहले बजेट प्रस्तुत गरेको पाइएको छ । यस्तै, ५.७१ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ ।
ललितपुरका मेयर जुम्लामा, मन्दिर निर्माणका लागि दिए ३५ लाख रुपैयाँ
जुम्ला । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् । उनी जुम्लाको चन्दननाथ नगरपालिकामा महानगरमा भएका मन्दिर जस्तै झल्को दिने मन्दिर निर्माणको उद्घाटनको लागि पुगेका हुन् । जुम्लामा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नं.२८ का अध्यक्ष वीरेन्द्र महर्जन रहेका छन् । उक्त नगरपालिकामा गणेश मन्दिर निर्माणको लागि महानगरले ३५ लाख रुपैयाँ सहयोग गरेको प्रमुख महर्जनले बताए । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजार निर्माण सम्पन्न भएको हो । बाँकी रकम गेट मन्दिरको गेट बनाउनका लागि खर्च गरिने उनले जानकारी दिए । महानगरका अनुसार गणेशका मूर्ति बनाउने ढुंगा खोकनाबाट ल्याइएको थियो भने मन्दिर निर्माणका लागि ललितपुरकै कालीगढहरूलाई लगाइएको थियो । गणेशको मन्दिर प्रतिस्थापन गरिएको उक्त मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं. ५ मा अवस्थित छ । चन्दननाथ नगरपालिकामा १० वटा वडा रहेका छन् । ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच ३ वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना कायम गर्दै आएको छ । मेयर महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु जिम्मेवारी सम्झेर मन्दिर निर्माणमा सहयोग गरेको बताए । उनले भने, ‘भगिनी सम्बन्ध कायम भएपछि हामी मित भयौं, अर्थात हामी मित भयौं, एउटा मितले अर्को मितलाई सहयोग गर्नु कर्तव्य हो ।’ महर्जनले मितहरूबीच एक–अर्कामा दुःख–सुख साझेदारी गर्ने हक भएको बताउँदै भगिनी सम्बन्ध भएका पालिकाहरूलाई महानगरले सम्पदा र वातावरणमैत्री परियोजनालाई सहयोग गर्दै आएको जानकारी दिए । महानगर मेयर महर्जनका अनुसार ललितपुर महानगरको आकृति झल्कने संरचना निर्माणलाई प्राथमिकतामा राखेर महानगरले परियोजना दिँदै आएको छ । यस्तो परियोजनामा आगमी दिनमा पनि महानगरको सहयोग रहने महर्जनले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका मेयर कठायतले दुर्गम जिल्लामा रहेको पालिकालाई उपत्यकाको सुगम र सम्पदायुक्त महानगरले सहयोग गरेकोमा धन्यावद दिए । त्यस्तै, नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि महानगरलाई धन्यवाद दिँदै भविष्मा यस्तै परियोजनमा योगदानको लागि अनुरोधसमेत गरिन् । त्यस्तै, जुम्ला जिल्ला समन्वय समितिका सभापति गौरीनन्द आचार्यले पालिकाको विकासमा भगिनी सम्बन्ध कायम गरेर सम्पदा र वातावरण परियोजनामा महानगरले गरेको सहयोगको लागि धन्यवाद दिए । ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएका पालिकाहरूमा सल्यानको शारदा नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, गुल्मीको मालिका गाउँपालिका, संखुवाभभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका हुन् । त्यस्तै, महानगरको अन्तर्राष्ट्रिय स्तरमा कोरियाको चेओरवन सहर र रसियाको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम रहेको छ ।
हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा लगायो रोक
बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।