फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ केन्द्र, निःशुल्क बिक्री गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूल तथा मालााहरूको बिक्री–वितरण गर्नको लागि ३२ बिक्री केन्द्र तोकेको छ । महानगरले तिहारलाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूलको बिक्रीको लागि सहजीकरण गर्दै ती केन्द्रहरू तोकेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरले किसानलाई बजारीकरणको लागि कुनै पनि असहज नहोस् भनेर यी केन्द्रहरू तोकिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।  उनका अनुसार किसानले तोकेको बिक्री केन्द्रमा निःशुल्क फूल तथा माला बिक्री गर्न पाउनेछन् । किसानलाई सहजीकरणको लागि महानगरले बिक्री केन्द्रको सम्पर्क नम्बरसमेत राखेको छ । उनका अनुसार कात्तिक १ गतेदेखि ६ गतेसम्म किसानले फूल बिक्री गर्न पायक पर्ने केन्द्रमा जान सक्नेछन् । सम्पर्क नम्बरमा कुनै समस्या भए प्रहरीको कन्टोल रुममा सम्पर्क गर्न सक्ने उनले बताए ।  महानगरले नयाँ बानेश्वरमा एनबी कम्प्लेक्स र आईप्लेक्स मल बिक्री केन्द्र तोकेको छ । मध्यबानेश्वरमा सेल्सबेरी, फोनेक्स टावर बत्तीसपुत्तली, तीनकुने चौर, सिफल चौर, चावहिलमा एसी कम्प्लेक्स र चावहिल गणेशस्थान तरकारी बजार, एसी कम्प्लेक्स, केएल टावर अगाडि, चावहिल सेन्टर अगाडि बिक्री केन्द्र तोकेको छ ।  त्यसैगरी, स्वयम्भुमा धर्म चक्र पार्क कालिमाटी वाङ्गक्यूट, कलंकीको भाटभटेनी, नयाँ बजारमा भ्याली कोल्ड स्टोर, माछापोखरी गुणस्तर खाल्डा, वुद्ध महल, हाँडीगाउँ ५ नम्बर वडा कायाृलया अगाडिको डबली, र गणेश मन्दिर डवली, कोइराला स्मार्ट २६ वडा सामाखुशी, महारग्रञ्जमा सेल्सवेरी, गंगवु र चपलकारखानाका विगमार्टमा किसानले आफूले उत्पादन गरेको फुल बिक्री गर्न सक्नेछन् ।  यस्तै, कामपा वडा न २८ आइटी विल्डिङ, पुत्तली सडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेवाल मन्दिर परिसर, न्युप्लाजाका बज्र कम्प्लेक्स र काठमाडौं मल बिक्री केन्द्र तोकेको छ ।  महानगरका प्रमुख पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनको भनाइ छ ।   उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । 

ललितपुर महानगरद्वारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

ललितपुर । ललितपुर महानगरले बाढीपहिरोजन्य विपद्का बेला प्रयोग हुने विभिन्न प्रकारका सामग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । महानगरले शनिबार कार्यक्रम आयोजना गरी नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई ती सामग्री हस्तान्तरण गरेको हो ।  विभिन्न खालका डोरी, डुङ्गा लगायतका सामग्री महानगरले हस्तान्तरण गरेको हो । देशभर शुक्रबारदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाको कारण देशको विभिन्न ठाउँमा बाढी पहिरो गइरहेको छ भने धेरैजसो ठाउँ बाढी पहिरोको जोखिममा छ ।  ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले अघिल्लो असोजको अविरल वर्षापछिको बाढी पहिरोबाट ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि थप सिकेको बताए । उनले भने, ‘हामीले डुङ्गा लगायत थप सामग्री किन्यौं, तालिम दिएर जनशक्ति तयार बनायौँ ।’ उनले नगरबासीलाई संयमित हुन आग्रह गरे । केहीदिनदेखि अविरल परेको पानीका कारण गएको बाढीपहिरो नियन्त्रण, उद्धार र व्यवस्थापनका लागि यी सामग्रीले सहयोग गर्ने बताए ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्रोतसाधन नभई  विपद्का बेला खोज र उद्धार गर्न गाह्रो हुने बताउँदै तीनवटा सुरक्षा निकायलाई खोज उद्धार सामग्री उपलब्ध गराइदिएकोमा महानगरलाई धन्यवाद दिए । उनले भने, ‘उद्धार र प्रकोप व्यवस्थापनलाई चुस्त बनाउन यी सामग्री उपयोगी छन्, त्यसका लागि महानगरलाई धन्यवाद । ’  नागरिकको जीवन जोगाउन सुरक्षा निकायको अनुरोध अनुसार आवश्यक सामग्रीको व्यवस्था गर्नु सह्रानीय काम भएको उनले बताए । प्राप्त सामग्रीको उचित प्रयोग र प्रयोगपछि सुरक्षित राख्न आग्रह गरे । कार्यक्रममा कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विद्यालयमा आश्रय लिएका मानिसलाई महानगरले बाँड्यो खाद्यान्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीका कारण समस्यामा परेका विद्यालयमा आश्रय लिइरहेका मानिसहरूका लागि खाद्यान्नको व्यवस्था गरेको छ। हाललाई महानगर प्रहरीमार्फत सुख्खा खानेकुराको व्यवस्था गरिएको छ भने महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक थप व्यवस्था गर्न निर्देशन दिएको छ । अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका बस्ती, त्यहाँका बासिन्दा र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत, साधन र उपकरण परिचालन गरिएको छ । जोखिममा रहेका परिवारका लागि महानगरपालिका भित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रय स्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको छ ।  तीमध्ये ४ वटा विद्यालयमा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरी राखिएको छ । महानगरका अनुसार विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा  ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवार २५१ जना, महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना रहेका छन् ।  विद्यालयमा आश्रयसहित खाना, शौचालय, पानीलगायत आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ। महानगरपालिकाका अधिकारीहरू जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा खटिएका छन् ।  आम नागरिकले कुनै जोखिममा पर्न नपरोस् र विपदका कारण कष्ट भोग्नु नपरोस् भन्ने उद्देश्यले महानगरले संयन्त्र परिचालन गरेको छ ।