ललितपुर महानगरले भत्कायो न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना
काठमाडौं । ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु भत्काएको हो । महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले सो क्षेत्रमा रहेको संरचना भत्काएको हो । न्हुः पोखरीको उत्तरपूर्व भागमा मिचेर बनाईएको अनाधिकृत संचरनालाई वुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए । महानगरपालिकको वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हुः पोखरीलाई महानगरपालिकाले जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको छ । महानगरपालिकाले पोखरीको जग्गाको अतिक्रमण बढेपछि सार्वजानिक जग्गा तथा ऐतिहासिक सार्वजानिक पोखरीको संरक्षण गर्ने निति बमोजिम न्हुः पोखरीको जिर्णोद्वार तथा पुनःनिर्माण गर्न लागेको हो । सो कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरि बजेट समेत विनियोजन गरिएको महानगरले जनाएको छ । वुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले महागरपालिकासँग पटकपटक छलफल गर्दा पनि निकास नदिएको आरोप लगाए । आफूहरु पोखरीको विरोधी नभएको भन्दै उनले आफूहरुलाई विकल्प दिन आग्रह गरे । २०१० सालमा स्थापना भएको वुद्धि विकास मण्डलले पनि समाज सेवा गरिएको उनको भनाई छ । उनले वुद्धि विकास मण्डलको भवन भत्काउन रोक्न आन्तरिम आदेशको माग गर्दै साउन १८ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको समेत जानकारी दिए । उच्च अदालतले अन्तरिम आदेश नदिएपनि कारण देखाउ आदेश जारि गरेको बताए । उक्त आदेशको पनि पालना नगरी संरचना भत्काइएको उनको आरोप छ । महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजानिक सम्पती संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानिय तहको भएको उल्लेख गर्दै गत साउन १६ गतेको निर्णय बमोजिम न्हुः पोखरी उत्तर पूर्वपोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा संरचना नहटाएपछि महानगर आफैँले हटाएको हो ।
तेल्या इँटा बिछ्याए पछि पाटन दरबार क्षेत्र थप आकर्षक, लागत डेढ करोड रुपैयाँ
काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्य पूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याए पछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब १ करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमै उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्य पूर्ण मानिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका उनले बताए । नगर प्रमुख महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए । ‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो । अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ,’ उनले भने । महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ ।
डेङ्गी सङ्क्रमणको जोखिम कायमै छ, सचेत रहनुहोला
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै कामपाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार, स्थानीय सरकार वा केन्द्रीय सरकारले उक्त रोग नियन्त्रणका लागि यो गरे वा गरेनभन्दा पनि प्रत्येक नागरिकले घरघरबाट डेङ्गी सङ्क्रमण नियन्त्रणको लागि पहल गरे ठूलो समस्याको सामना गर्नुगर्दैन त्यसैले यसको लागि नागरिक आफैँ पनि जिम्मेवार बन्न आवश्यक छ । भुसालका अनुसार कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने काम समेत भइरहेको छ । कामपाले यसअघिबाट नै लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान जारी राखिएको भुसालले जानकारी दिए । डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । 'घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेङ्गीको लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ', भुसालले भने, 'सामान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सबैभन्दा उत्तम हुन्छ ।' त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतनाको कार्यक्रम कामपाले गरिसकेको छ । डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टे सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ ।