दुई वर्षसम्म कारोबार नगरेका सहकारीले दर्ता खारेजी गर्नू : काठमाडौं महानगर
काठमाडौं । दुई वर्षसम्म कारोबार नगरेका र निष्क्रिय रहेका सहकारीलाई काठमाडौं महानगरपालिकाले दर्ता खारेजी सूचना जारी गरेको छ । दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका सहकारीलाई महानगरले दर्ता खारेजी गर्न सूचनामा बताएको छ । साधारण सभाको तत्काल कायम रहेको दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि इच्छुक संस्थाले यस विभागमा माग गर्न सूचनामा उल्लेख गरिएको छ । काठमाडौँ महानगरपालिकाले क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाहरूले काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सूचना प्रकाशित गरिएको छ जनाएको छ ।
काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन् । विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको बताए । 'महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्द्धन तथा सुशासन कायम राख्न सहयोग तथा समन्वयको भूमिका निर्वाहका लागि जिम्मेवारी दिएको छ । सामूहिक हित, समन्वय तथा मेलमिलापमार्फत समस्या समाधान गर्ने उद्देश्यले सञ्जाललाई सहकारीसम्बन्धी कार्य विवरण थप गरिएको हो', विभाग प्रमुख काफ्लेले भने । मेलमिलाप तथा छलफलका लागि वडा महिला संजालका संयोजक र सदस्य, सहकारी संस्थाका तर्फबाट सहकारी संस्थाका प्रतिनिधि, ऋणीका हकमा स्वयं ऋणी तथा बचतकर्ताका हकमा स्वयं बचतकर्ता सहभागी हुनेछन् । समस्या समाधानका लागि महानगरको क्षेत्राधिकार तथा सम्बन्धित वडामा पर्ने सहकारी संस्थासम्बन्धी बचतकर्ताको बचत रकम फिर्ता गर्न एकल वा संयुक्त निवेदन लिनेछ । सहकारी संस्था वा ऋणीलाई अनलाइन वा पत्राचारमार्फत सम्पर्कमा ल्याइने छ । मेलमिलापका लागि संस्थाको नाम, ठेगाना, दाबी गरिएको रकमसम्बन्धी विवरण, सम्पर्क नम्बर, तमसुकसहितको अभिलेख लिनेछ । यसले छलफल र मेलमिलापसँगै ऋण नतिर्ने ऋणीबाट ऋण उठाउन सहजीकरण गर्ने विश्वास गरिएको छ । वडाबाट सूचना गएपछि पनि ऋणीहरूले ऋण तिर्न कुनै चासो नदेखाएमा वा सम्पर्कमा नआएमा त्यस्ता ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउने विषयमा पनि वडाध्यक्ष र विभागलाई सुझाव दिइने जनाइएको छ । सहकारी विभागलाई वडाभित्रका सहकारी संस्थाको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली तथा सदस्य हितसम्बन्धी समस्याको जानकारी गराउने, सहकारी संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउन र सहकारीसम्बन्धी समस्या समाधानका लागि निकायगत समन्वय गर्ने जिम्मेवारी रहेको छ ।
ज्येष्ठ नागरिक भन्छन् - सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ, आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ
काठमाडौं । बाहिरबाट हेर्दा काठमाडौं सहरको बसाई लोभलाग्दो देखिन्छ । बाहिरबाट हेर्दा जति लोभलाग्दो छ । शहर भित्रको सामाजिक अन्तरघुलन त्यत्तिकै उकुसमुकुस छ । जेठ १५ गते काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शन गर्न पुगेका वडा नं. ११ क्षेत्रका ज्येष्ठ नागरिकहरूको अभिव्यक्ति र खुला ठाउँमा पुग्दाको खुशीले यस्तै बताइरहेको थियो । सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका सँग सामूहिक खाना र खाजा खाँदा उनीहरुको अनुहारमा उज्यालो देखिँदै गएको थियो । तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षीय हीरामान डंगोल र ८५ वर्षीय मचाम डंगोल एकै साथ थिए । उनीहरुले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भने- ‘सहरमा म मात्र एक्लो होइन । मजस्तै अरु पनि एक्लै हुनुहुँदो रहेछ । भन्ने देख्न पाइयो । एक्लाएक्लाहरुका बिचमा भेटघाट गर्न पाउँदा त उमेर नै बढेको जस्तो भयो । मजस्तै विरामी भएका अरु पनि हुनुहुँदो रहेछ । यो पनि थाहा भयो । उहाँहरुलाई देखेर मलाई त बाँच्न आत्मबल बढ्यो ।’ उनीहरूसँगै यात्रामा रहेका ७७ वर्षीय कन्हैयाराज श्रेष्ठले विगत सम्झिँदै भने- ‘म वन कार्यालयको उपमहानिर्देशक पदबाट रिटायर्ड भएको हूँ । त्यो बेला सम्झँदा अहिले लाग्छ, ‘पदमा हुँदा मान्छे धरातलमा होइन । हावामा उडेको हुन्छ । आफूलाई अरुभन्दा माथि भएको लाग्छ । कसैलाई गन्दैन । कसैले भनेको मान्दैन ।’ मलाई पहिलेका कुरा सम्झँदा अहिले लाग्छ, ‘त्यसबेला सबै निरर्थक काम गरिएछ ।’ वडाले ज्येष्ठ नागरिकका लागि कार्यक्रम आयोजना गरेर म जस्ता व्यक्तिलाई सामाजिकीकरण गरायो । यसले जीवनप्रति उर्जा थपिएको छ । सामाजिक दुरी घटाएको छ ।’ ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकोमा आनन्द अनुभूति भएको प्रतिक्रिया दिइन् । ७० इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका घाउ विर्सिन सजिलो हुने कुरा सुनाए । ७१ वर्षीया मीरा डंगोल महर्जनले र ७५ वर्षिया हिरामाया महर्जनले अनुभव सुनाउँदै भने- ‘मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ । समाज र आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।’ ७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भने- ‘मोनोटनस जीवन विताउँदै थियौँ । आज खुव रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका भए जस्तै भयो । पीडा कम भयो ।’ तपाईँहरुलाई घरमा बस्दा बस्दा दिक्क भएको रहेछ, अब महानगरपालिकाले तपाईँहरुका लागि कस्ता कार्यक्रम ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उनीहरुले भने- ‘यसरी घुमाउन लैजाने कार्यक्रम सधैँ चलाइरहनु पर्छ । औषधि किन्न जाने मान्छे, रोग जाँच्न लगिदिने मान्छे छैनन् । त्यो व्यवस्था मिलाइ दिनु पर्छ ।’ यसरी ज्येष्ठ नागरिकहरुसँग अन्तर संवाद गरिरहेका महानगरपालिकाका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने- ‘घरमा ज्येष्ठ नागरिक एक्लो जीवन बाँचिरहेको छ । उसका चाहना सोध्ने कोही छैन । रुचि र अरुचिका कुरा कसैले सोध्दैन । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । लैजानलाई कसैसँग फुर्सद छैन ।’ कुरा गर्दा-गर्दै आफैँ भक्कानिनु भएका तण्डुकारका आँखामा टलपल आँशु देखिए । भावुकता सम्हाल्दै ७६ वर्षीय उनले थपे- ‘म पनि यस्तै अवस्थामा छु । कोही परिवार भएर पनि एक्ला छन् । कोही श्रीमती, छोरा-छोरी कोही नभएर म जस्तै एक्ला छन् ।’ पहिलो पटक विसं २०४९ सालमा वडाध्यक्ष निर्वाचित भएका तण्डुकार २०७४ साल र २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भए । वडाध्यक्ष पदमा उनले २०५४ सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो । वडामा तण्डुकार जस्तै धेरै ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये करिब ८५० जनाले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका छन् । यस वर्ष १५१ जनालाई पोषण भत्ता बापत हरेकलाई १२ हजार रुपैयाँ प्रदान गरिएको छ । यो संख्या गएको वर्ष १८१ जना थियो । वडामा पोषण भत्ता प्राप्त गर्ने ९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । अति अशक्त १५ जना प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका ७ जना व्यक्ति हुन् । अन्य सेवाबाट सुविधा लिने भएकाले वडाको सम्पर्कमा नहुनु भएका धेरै ज्येष्ठ नागरिक हुन् । उनीहरु कसरी जीवन विताइरहेका छन्,‌अभिलेखन हुन सकेको छैन । वडाले यस्ता ज्येष्ठ नागरिकलाई खोजेर सामाजिक क्रियाकलापमा आवद्ध गराएर मानसिक पीडा कम गराउने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।