काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको शनिबार भएको सवारी दुर्घटनामा निधन भएको छ ।
प्रहरीका अनुसार रानामगर आफैंले चलाएको लु प्रदेश १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा स्वर्गद्वारी नगरपालिका-२, बांगेसल्ला क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपप्रमुख रानामगरको असामयिक निधनले स्वर्गद्वारी नगरपालिकासहित जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ ।